
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारी संस्था टुक्र्याउने गरी कानुन बनाउन लागिएकामा पाँच दिनदेखि विरोधमा छन्।
उनीहरुले बिहीबार बिहान १० कार्यालय खुल्नासाथ नै पेन डाउन गरेका छन्। कर्मचारी ट्रेड युनियनका अध्यक्ष सुभाष कोइरालाले बिहान १० बजे सुरु भएको पेन डाउन दिउँसो २ बजेसम्म कायम रहने बताए।
कर्मचारीले आइतबारबाट विरोधका कार्यक्रम सुरु गरेका थिए। क्यान विभाजन गर्ने विधेयक तत्काल फिर्ता लिनुपर्ने मागसहित विरोधमा उत्रिएका कर्मचारीले काम नै गर्न छोडेपछि उनीहरुलाई पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले छलफलमा बोलाएका छन्।
युनियनका अध्यक्ष कोइरालाले छलफलका लागि मन्त्रीको सचिवालयबाट बोलावट भएको जानकारी दिए। उनका अनुसार बिहीबार साँझ मन्त्रीसँग छलफल गर्ने तय भएको छ।
सरकारले क्यानलाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा विभाजन गर्ने गरी दुई अलग विधेयक गत माघ १९ गते संसद्मा दर्ता गराएको थियो।