अमेरिकामा २१ अर्ब डलर लगानी गर्ने हुन्डाइको घोषणा, ट्रम्पले भने- ‘ट्यारिफ’को प्रभाव

बिजमाण्डू
२०८१ चैत्र १३ गते ०८:०८ | Mar 26, 2025
अमेरिकामा २१ अर्ब डलर लगानी गर्ने हुन्डाइको घोषणा, ट्रम्पले भने- ‘ट्यारिफ’को प्रभाव


दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाइले अमेरिकामा २१ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आयात कर (ट्यारिफ) लगाउने घोषणा गर्नुअघि नै हुन्डाइले यस्तो घोषणा गरेको हो

Tata
GBIME
NLIC

यसअन्तर्गत हुन्डाइले लुइसियानामा ५.८ अर्ब डलरको स्टिल कारखाना निर्माण गर्ने जनाएको छ। यसबाहेक कम्पनीले अमेरिकी कार उत्पादन विस्तार गर्ने र स्वचालित सवारी तथा एआई प्रविधिमा अर्बौँ डलर लगानी गर्ने योजना समेत सार्वजनिक गरेको छ।

ट्रम्पले यो लगानीलाई आयात करको प्रभावकारी प्रमाण भनेका छन्।

ट्रम्पले सोमबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा भनेका छन्, ‘ट्यारिफले राम्रो प्रभाव पार्छ भन्ने यसले स्पष्ट देखाउँछ।’

उनले यसै साता सवारी आयातमा थप ट्यारिफ लगाउने सम्भावना रहेको पनि बताएका छन्।

हुन्डाइले नयाँ स्टिल कारखानाले वार्षिक २७ लाख मेट्रिक टन स्टिल उत्पादन गर्ने जनाएको छ। कारखानाले १ हजार ४०० भन्दा बढीलाई रोजगारी दिने बताइएको छ। यो स्टिल हुन्डाइका अलाबामा र जर्जियास्थित कार कारखानाका लागि प्रयोग गरिनेछ।

कम्पनीले अमेरिकी उत्पादन क्षमता सन् २०२८ सम्ममा वार्षिक १२ लाख कार पुर्‍याउन ९ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ। साथै, स्वचालित सवारी, रोबोटिक्स र एआई प्रविधिमा अनुसन्धान तथा विकासका लागि अमेरिकी कम्पनीहरूसँग साझेदारी विस्तार गर्न ६ अर्ब डलर छुट्याएको छ।

हुन्डाइ मोटरले बुधबार जर्जियामा ७.५९ अर्ब डलरको नयाँ कार तथा ब्याट्री कारखानाको उद्घाटन गर्ने तयारी गरेको छ। कम्पनीको अलाबामामा पहिले नै कार उत्पादन कारखाना छ भने यसको सहायक कम्पनी कियाको पनि जर्जियामा कारखाना सञ्चालनमा छ।

यी तीनवटा कारखाना पूर्णरूपमा संचालनमा आएपछि हुन्डाइले अमेरिकामा वार्षिक १० लाख कार उत्पादन गर्ने लक्ष्य राखेको छ। कम्पनीले अमेरिकी बजारबाट ३ अर्ब डलर बराबरको एलएनजी खरिद गर्ने योजना पनि सार्वजनिक गरेको छ।

ट्रम्प पुनः राष्ट्रपतिमा फर्किएपछि धेरै कम्पनीहरूले अमेरिकामा ठूलो लगानीको घोषणा गरिरहेका छन्। तर तीमध्ये केही पहिले नै सार्वजनिक भएका योजनाहरू दोहोरिएका पनि देखिन्छन्।

जो बाइडेन प्रशासनको समयमा हुन्डाइले २०२५ सम्म नयाँ प्रविधिमा १० अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेको थियो।

ट्रम्पले अप्रिल २ मा नयाँ कर लगाउने घोषणा गरेसँगै कम्पनीहरूले लगानी योजनाहरू अघि सारेका हुन्।

गत महिना ट्रम्पले अमेरिकी बजारमा प्रवेश गर्ने सबै स्टिल तथा आलुमिनियममा २५ प्रतिशत आयात कर लगाएका थिए। उनले नट र बोल्टदेखि पेय पदार्थका क्यानसम्मका सयौँ धातुजन्य उत्पादनहरूमा पनि कर लगाउने घोषणा गरेका थिए।

यसबीच, अमेरिकी कार निर्माता कम्पनीहरू जेनरल मोटर्स र फोर्डले ट्रम्पलाई सवारी तथा अटो पार्ट्स आयातमा छुट दिन आग्रह गरिरहेका छन्।