काठमाडौं। एनएमबी बैंकले ७ प्रतिशत व्याजदरमा सहुलियतपुर्ण कर्जा उपलब्ध गराउने भएको छ। बैंकले ८ वटा व्यासायलाई लक्षित गर्दै बिना धितो व्यावसायिक योजनाका आधारमा अधिकतम १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने भएको छ।
बैंकले देशको आर्थिक विकास तथा व्यापार घाटा कम गर्नका लागि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए।
१५ सय अर्ब रुपैयाँको आयात हुँदा एक सय अर्ब रुपैयाँ पनि निर्यात नहुँदा देशमा व्यापार घाटा चुलिएको बताउँदै उनले आफ्नोतर्फबाट योगदान पुर्याउन कृषि क्षेत्रमा लगानी बिस्तार गर्न खोजिएको बताए।
बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या आयात कम नहुन्जेल समाधान नहुने भन्दै उनले रेमिट्यान्सको पैसा जबसम्म विलासिताका क्षेत्रमा खर्च हुन्छ तबसम्म बचत नहुने र यसको प्रभाव बैंकिङ क्षेत्रमा पर्ने उनले उल्लेख गरे।
देशको आन्तरिक उत्पादन बढाउन बैंकले ८ वटा व्यावसायिक क्षेत्रमा कर्जा प्रवाह गर्ने योजना बनाएको केसीले जानकारी दिए। बैंकले व्यवसायिक कृषि तथा पशुपन्छीका लागि एक जनालाई १० लाख रुपैयाँसम्मको ऋण दिने छ।
शिक्षित युवा स्वरोजगारका लागि ७ लाख रुपैयाँसम्म, वैदेशिक रोजगारबाट फर्किएकाको युवा परियोजनामा १० लाख रुपैयाँसम्म, दलित समुदायको व्यवसाय विकासका लागि १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाको लागि ५ लाख रुपैयाँसम्म, भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि ३ लाख रुपैयाँसम्म र महिला उद्यमशिलताका लागि १५ लाख रुपैयाँसम्म उपलब्ध गराउने छ।
बैंकले सरकारी कार्यक्रमलाई आफ्नो ऋणको स्किम डिजाइन गरेको हो। बैंकले महिलाहरुको लागि कृषिका लागि आवस्यक पर्ने जति खर्चलार्इ कर्जाको रुपमा उपलब्ध गराउने हिसावले 'अग्रणी महिला कृषि कर्जा' संचालनमा ल्याएको छ। यसका लागि भने धितो आवश्यक पर्दछ।
ऋणका लागि सामान्य व्यावसायिक योजना सहित सामुहिक जमानी आवश्यक पर्ने उनले बताए। बैंकका जुनसुकै शाखा कार्यालयमा गएर ऋणको प्रस्ताव गर्न सकिनेछ।
नेपाल सरकारले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ अनुसार बैंकले विपन्न वर्गका जनतालाई लक्षित गरि यस्तो कार्यक्रम ल्याएको हो। यसै कार्याविधिलाई टेकेर बैंकले लघु तथा विपन्न वर्ग कर्जा उपलब्ध गराउने भएको हो।
यसैगरी बैंकले निक्षेपकर्ताहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले एनएमबी सहारा बचत खाता अन्तर्गत विभिन्न १८ वटा गम्भिर रोग र दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम १० लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने भएको छ।
बैंकले यस निक्षेप योजनामा ७ प्रतिशत व्याज उपलब्ध गराउने छ। बैंकले यस्ता योजना मार्फत बैंकिङ च्यानलमा निक्षेप भित्र्याउन सहयोग गर्ने केसीले बताए।










