पोखराको बेलुन विस्फोट घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन, १५ दिनको कार्यादेश



बिजमाण्डू
२०८१ फागुन ४ गते १५:३६ | Feb 16, 2025
पोखराको बेलुन विस्फोट घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन, १५ दिनको कार्यादेश

काठमाडौं। पोखरामा शनिबार आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ। गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।

Tata
GBIME
Nepal Life

समितिलाई १५ दिनभित्रमा छानबिन प्रतिवेदन पेस गर्ने कार्यादेश छ। मन्त्रीस्तरीय निर्णयबाट गठित समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण बाहिनीका प्रमुख सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कास्की जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेको समिति गठन गरिएको हो।

समितिमा एक जना विस्फोटक पदार्थविज्ञसमेत सदस्यका रुपमा रहने व्यवस्था गरिएको छ। समारोहमा बेलुन उडाउने क्रममा विस्फोट हुँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका थिए। दुवैको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

छानबिन समिति गठन गरेपछि गृहमन्त्री लेखकले बर्न अस्पताल पुगेर दुवैको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।