नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै गएकोप्रति सरोकारवालाद्वारा चिन्ता व्यक्त



बिजमाण्डू
२०८१ फागुन २ गते १३:४३ | Feb 14, 2025
नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै गएकोप्रति सरोकारवालाद्वारा चिन्ता व्यक्त

काठमाडौं। नेपालमा अनलाइनबाट हुने दुर्व्यवहारजन्य अपराधका घटनाहरु बढ्दै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

Tata
GBIME
Nepal Life

इन्टरनेटको तीव्र विकाससँगै सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत हुने यस्ता घटना न्यूनीकरणका लागि डिजिटल शिक्षा आजको आवश्यकता रहेको सरोकारवाला तथा सञ्चारकर्मीहरूले बताएका छन्।

सुरक्षित इन्टरनेट दिवस २०२५ को सन्दर्भमा ‘अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले यस्तो बताएका हुन्।

भ्वाइस अफ चिल्ड्रेन र आइवर्ट नेपालको संयुक्त आयोजना भएको कार्यक्रममा अनलाइनबाट हुने दुर्व्यवहारका घटनाहरूको तथ्याङ्क अध्ययन, रोकथाम तथा न्यूनीकरणको उपायका विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले आयोगमा महिला र किशोरीमाथि हुने हिंसाका उजुरी आउने गरेको बताइन्। उनले प्रविधिको सहयोगमा धेरै राम्रा, उत्पादनमूलक र सूचनामूलक जानकारी हासिल हुने गरेपनि यसको दुरुपयोगले धेरै नै दुःख, बदनामी खेप्नुपर्ने अवस्था भएको बताइन्।

सुरक्षित इन्टनरनेटको प्रयोगसम्बन्धी सचेनामूलक कार्यक्रम विद्यालय र समुदायस्तरमा समेत निरन्तर संचालन गर्नुपर्ने उनको भनाइ थियो।

राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको सिकारमा धेरै बालबालिका परिरहेको बताइन्। उनले इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिका लगायत सबैले सिक्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले प्रविधिको दुरुपयोगले समाजका सबै उमेर, वर्ग र पेशा व्यवसायका व्यक्ति लगायत पत्रकार समेत हिंसामा परेको उल्लेख गरिन्। उनले प्रविधिको सदुपयोग सम्बन्धमा चनाखो हुँदै हिंसामा परिहाले सम्बन्धित निकायमा उजुरी गरी पीडकलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिइन्।

आइवर्ट नेपालका अध्यक्ष इच्छा गुरुङले अनलाइन हिंसाबाट पत्रकार महिला पनि प्रभावित हुने क्रम बढेको बताइन्। उनले समाज परिवर्तनका लागि योगदान दिने पत्रकार नै यस्तो हिंसामा पर्नुले अनलाइन हिंसाको अवस्था भयावह रहेको बताइन्।

भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले अनलाइन हिंसामा महिला, बालिका, किशोरी मात्र होइन, बालकहरू पनि परिरहेको तथ्याङ्कले देखाएको बताए। इन्टरनेटको सही प्रयोगबारे जनचेतनामूलक कार्यक्रम र साइबर हिंसा गरे हुने कारबाही र उजुरी गर्ने निकाय नेपाल प्रहरी साइबर ब्युरोबारे पनि सबैलाई जानकारी गराउँदै जानुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा आइवर्ट नेपालका उपाध्यक्ष दीपान्जली लामाले ‘अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरिन्। सोक्रममा उनले नेपाल प्रहरी साइबर ब्युरोलाई उद्धृत गर्दै आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिका र ८ हजार ७४५ जना महिला प्रभावित भएको तथ्यांक प्रस्तुत गरिन्।

उनका अनुसार बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था भ्वाइस अफ चिल्ड्रेनले जर्मन सहयोगमा सन् २०२३ मा कोशी र बागमती प्रदेशका ५१४ जना बालबालिका र सम्बन्धित परिवारसँग गरिएको सर्वेक्षणले पनि साइबर अपराधको जालोमा बालबालिका परिरहेको देखाएको छ। सो सर्वेक्षणमा १३ देखि १८ वर्ष उमेर समूहका ९७ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचमा रहेका देखाएको छ।

नेपालमा ८१ प्रतिशतभन्दा बढि साइबर हिंसा तथा अपराध सामाजिक सञ्जाल फेसबुकबाट भइरहेको पाइएको छ। अनलाइन हिंसा तथा अपराधमा ६३५ जना बालबालिका र महिला ८ हजार ७४५ जना महिला प्रभावित भएको तथ्याङ्क छ।

कार्यशालामा साइबर ब्युरोका सावित्रा कार्कीले पछिल्लो समय बढेको साइबर हिंसाका स्वरुप र सचेतनाका उपायहरूको बारेमा कार्यपत्र प्रस्तुत गरिन्।