
काठमाडौं। स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा दरखास्त खुलेको छ। बोर्ड कार्यकारी निर्देशक सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट छनोट गर्न बिहीबार दरखास्त आह्वान गरेको हो।
कार्यकारी निर्देशकका लागि योग्यता पुगेका व्यक्तिले १० दिनभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवेदन पेस गर्न सक्नेछन्।
अर्थशास्त्र, व्यवस्थापन, कानुन, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धी विषयमा स्नातकोत्तर गरेर सम्बन्धित क्षेत्रमा दश वर्ष अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन्।
आवेदन दिने व्यक्ति भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ती शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको हुनुपर्नेछ।
दरखास्त दिने अन्तिम मितिसम्म ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। उम्मेदवारले ३ देखि ५ हजार शब्दसम्मको कार्ययोजना पेस गर्नुपर्नेछ।