त्रिदेशीय सिरिजमा नेपालको पाँचौँ हार, नेदरल्याण्ड्स १० विकेटले विजयी



बिजमाण्डू
२०८१ माघ २३ गते १५:३४ | Feb 5, 2025
त्रिदेशीय सिरिजमा नेपालको पाँचौँ हार, नेदरल्याण्ड्स १० विकेटले विजयी
नेपाली महिला क्रिकेट टोली। फाइल फोटो: क्यान

काठमाडौं। नेपाली महिला क्रिकेट टोली नेदरल्याण्ड्सँग पराजित भएको छ। कीर्तिपुरमा जारी त्रिदेशीय सिरिज अन्तर्गत नेपाली टोली आफ्नो पाँचौँ खेलमा पनि पराजित भएको हो।

Tata
GBIME
Nepal Life

आज सम्पन्न खेलमा नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्स बिना कुनै विकेटको क्षतिमा १९.४ ओभरमा भेट्टायो। योसँगै नेपाली टोली घरेलु मैदानमा डच टोलीसँग एकै सिरिजमा तीनपटक पराजित भएको हो।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।

नेपाली टोलीकी कप्तान इन्दु वर्माले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएकी थिइन्।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले दुबै ओपनरलाई सस्तैमा गुमाएको थियो। सम्झना खड्काले ६ र ममता चौधरीले १ रन बनाउँदै पभेलियन फर्कँदा कप्तान इन्दु वर्मा र पूजा महतोले ७८ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए।

वर्माले ३७ बलमा ५ चौकाको सहायतामा ३९ रन बनाइन्। त्यस्तै पूजाले अर्धशतकीय इनिङ्स खेलिन्। उनले ५१ बलमा ५ चौकाको सहायतामा ६२ रन बनाउँदै अविजित रहिन्।

त्यस्तै, रुविना क्षेत्रीले २० रन बनाउँदा कविता जोशी ७ रनमा अविजित रहिन्।

बलिङतर्फ नेदरल्याण्ड्सका एरिस ज्विलिङले २ विकेट लिँदा कारोलिन डि लेङ्ग र हेइथर सिएगर्सले समान १ विकेट लिए।

नेपालले दिएको लक्ष्य पछ्याउन नेदरल्याण्ड्सलाई मुस्किल परेन। उसलाई लक्ष्यसम्म पुर्‍याउन फेबे मोलकेनबोएरले अविजित ४८ रन बनाउँदा स्टेइर्री कालीसले अविजत ९८ रन बनाइन्। डच ओपनर सामू नेपाली बलर निरीह बने। नेपाली टोलीले सिरिजको अन्तिम खेलमा बिहीबार थाइल्याण्डसँग खेल्नेछ।