काठमाडौं। सन् २०२५ को जनवरीमा ७९ हजार ९९१ पर्यटक भित्रिएका छन्। यो संख्या पोहोर जनवरी महिनाको तुलनामा ८९१ ले बढी हो।
दक्षिण एसिया र एसियाली पर्यटकको संख्या घट्दा युरोपेली देश र अमेरिकाबाट आउनेको संख्या बढेको छ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार अमेरिकी पर्यटकको संख्या १४ प्रतिशतले बढेको छ। जनवरीमा ९ हजार ६३७ अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यस्तै युरोपबाट १० हजार ३६७ पर्यटक आएका छन्।
दक्षिण एसियाली पर्यटकको संख्या ४.३ प्रतिशतले घटेको छ। दक्षिण एसियाली मुलुकबाट जनवरीमा २९ हजार ४८७ पर्यटक नेपाल आएका छन्।
पर्यटकको संख्या पोहोरको तुलनामा सामान्य बढेपनि कोभिडअघि अर्थात सन् २०१९ को जनवरीको तुलनामा भने घटेको छ। सन् २०१९ को जनवरीमा ८१ हजार २७१ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

‘सन् २०२४ को जनवरीको तुलनामा यसपालि पर्यटक आगमन संख्या केही हदसम्म वृद्धि भएको छ। तर सन् २०१९ को तुलनामा घटेको छ,’ बोर्डका प्रवक्ता मणिराज लामिछानेले भने, ‘भारतमा अहिले चलिरहेको महाकुम्भ मेलाका कारण पनि भारतीय पर्यटकको आगमन कम भएको छ।’
नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै ३७ प्रतिशत हिस्सा दक्षिण एसियाली मुलुकको छ।










