बेइजिङ। चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमाथि लगाएको नयाँ करको विरोध गरेको छ। चीन ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न आवश्यक जवाबी कदम’ चाल्ने वाचा पनि गरेको छ।
प्रमुख व्यापार साझेदारहरूविरुद्ध व्यापक कदमहरू सार्वजनिक गर्दै शनिबार ट्रम्पले चिनियाँ आयातमा विद्यमान शुल्कमा थप १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए।
चीनको वाणिज्य मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा वासिङ्टनको ‘गलत अभ्यासहरू’को आलोचना गर्दै बेइजिङ ‘यसप्रति अत्यन्त असन्तुष्ट रहेको र यसको कडा रुपमा विरोध गर्ने’ उल्लेख गरेको छ।
बेइजिङले यसविरुद्ध विश्व व्यापार संगठन (डब्लुटीओ) मा मुद्दा दायर गर्ने बताउँदै मन्त्रालयले ‘संयुक्त राज्य अमेरिकाले एकपक्षीय रूपमा लगाएको करले विश्व व्यापार संगठनका नियमहरूको गम्भीर उल्लंघन गरेको’ तर्क गरेको छ।
‘यी शुल्कहरू अमेरिकाको आफ्नै समस्याहरू समाधान गर्न असहयोगी मात्रै छैन, सामान्य आर्थिक र व्यापारिक सहयोगलाई पनि कमजोर बनाउँछन्,’ मन्त्रालयले भनेको छ, ‘संयुक्त राज्य अमेरिकाले अन्य देशहरूलाई हरेक पालोमा कर लगाउने धम्की दिनुको सट्टा फेन्टानिल जस्ता आफ्नै मुद्दाहरूलाई वस्तुनिष्ठ र तर्कसंगत रूपमा हेर्ने र व्यवहार गर्नेछ भन्ने चीनलाई आशा छ।’
‘बेइजिङले अमेरिकालाई आफ्नो गलत अभ्यासहरू सुधार गर्न, चीनसँग समन्वय गर्न, आफ्ना समस्याहरूको सामना गर्न, स्पष्ट संवाद गर्न, सहयोगलाई बलियो बनाउन र समानता, आपसी लाभ र आपसी सम्मानको आधारमा मतभेदहरू व्यवस्थापन गर्न आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
‘व्यापार युद्ध वा भन्सार युद्धमा कुनै विजेता हुँदैन,’ चीनको विदेश मन्त्रालयले छुट्टै विज्ञप्तिमा भनेको छ, ‘थप भन्सार महसुल लगाउने अभ्यास रचनात्मक छैन र यसले लागू औषध नियन्त्रणमा भविष्यको द्विपक्षीय सहयोगलाई अनिवार्य रूपमा प्रभावित र क्षति पुर्याउनेछ।’ -एएफपी/रासस











