काठमाडौं महानगरको चालु वर्षको बजेट संशोधन, राजस्व असुली लक्ष्य झण्डै पाँच अर्बले घटाइयो



बिजमाण्डू
२०८१ पुष १४ गते २०:५९ | Dec 29, 2024
काठमाडौं महानगरको चालु वर्षको बजेट संशोधन, राजस्व असुली लक्ष्य झण्डै पाँच अर्बले घटाइयो

काठमाडौं। काठमाडौं महानगरपालिकाको १६औं नगर सभाले आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित गरेको छ। सभाको १६औं अधिवेशनले उपप्रमुख एव बजेट तर्जुमा समितिका संयोजक सुनिता डंगोलले पेस गरेको कार्यक्रम तथा बजेट संशोधनसहित पारित गरेको हो।

Tata
GBIME
Nepal Life

जसअनुसार ७२ करोड ९९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन भएको आर्थिक विकासको क्षेत्रमा ७२ करोड ४३ लाख ७१ हजार वजेट कायम गरिएको छ। ३ अर्ब ७० करोड ५३ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएको कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३ अर्ब ७२ करोड ६८ लाख ४२ हजार रुपैयाँ कायम गरिएको छ।

१२ अर्ब १ करोड ९३ लाख ९१ हजार रुपैयाँ विनियोजन भएको पूर्वाधार विकासको क्षेत्रमा ११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार रुपैयाँ कायम गरिएको छ।

उपप्रमुख डंगोलका अनुसार स्वीकृत कुल बजेट रकम, चालु खर्च रकम र पुँजीगत खर्च रकममा थपघट नहुने गरी क्रियाकलापमा मात्र संशोधनका लागि सभामा प्रस्ताव पेस गरिएको थियो। प्रस्तावमाथि नगर सभा सदस्य विमलकुमार होडा, मचाराजा महर्जन, पुष्प महर्जन, रत्नाकर बज्राचार्य र सन्तोष ढुङ्गेलले धारणा राखेका थिए।

सभाबाट ५ अर्ब ४८ करोड ८६ लाख ६९ हजार रुपैयाँ विनियोजन भएको सामाजिक विकासका क्षेत्रमा ५ अर्ब ३५ करोड ३३ लाख ८८ हजार रुपैयाँ कायम गरिएको छ। २ अर्ब ९६ करोड २९ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रमा ३ अरब २२ करोड ६५ लाख ८५ हजार रुपैयाँ कायम गरिएको छ।

नगर सभाको १५औं अधिवेशनबाट चालु आर्थिक वर्षका लागि २५ अरब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको थियो। यसमध्ये २०८१ पुस ११ गतेसम्ममा ४ अर्ब १ करोड ४ लाख ५६ हजार रुपैयाँ खर्च भएको छ। खर्च रकम विनियोजनको १६.१० प्रतिशत हो।

चालुतर्फ २३.५८ र पुँजीगततर्फ १०.९२ प्रतिशत भएको छ। यस अवधिमा पूर्वाधार विकासमा १२.१३ प्रतिशत, आर्थिक विकासमा २४.१८ प्रतिशत, सामाजिक विकासमा १२.२३ प्रतिशत खर्च भएको छ। त्यसै गरी सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा ७.९२ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३६.५४ प्रतिशत खर्च भएको छ।

चालु आर्थिक वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ आय हुने लक्ष्य राखिएकोमा आन्तरिक राजस्व असुलीको लक्ष्य ८ अर्ब ३ करोड ५७ लाख रुपैयाँ छ। पुस ११ गतेसम्ममा ४ अर्ब ९ करोड ८९ लाख ३६ हजार रुपैयाँ आन्तरिक, राजस्व बाँडफाँड र सःशर्त अनुदानवापत प्राप्त भएको छ।

आन्तरिकतर्फ कुल २ अरब ६१ करोड ५५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ। राजस्व बाँडफाँडबाट ५९ करोड ८९ लाख ४१ हजार रुपैयाँ र संघ तथा प्रदेश सरकारवाट प्राप्त सःशर्त अनुदान ८८ करोड ४४ लाख ५१ हजार रुपैयाँ प्राप्त भएको छ।

आम्दानीको लक्ष्यमध्ये अहिलेसम्ममा ३१.०७ प्रतिशत प्राप्त भएको छ। आन्तरिकतर्फ लक्ष्यको ३२.५५ प्रतिशत प्रगति भएको छ।

सभाले २०७३/०७४ देखि २०७९/०८० सम्म नियमित गराउनु पर्ने र सम्परीक्षण गराउनु पर्ने बेरुजु रकममध्ये २३ करोड ५८ लाख १८ हजार ११० रुपैयाँ नियमित गराउन तथा सम्परीक्षण गराउन महालेखा परीक्षकको कार्यालयमा पेश गर्न पठाउने निर्णय गरेको छ।