काठमाडौं। वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत आफैं देश दौडाहामा निस्किएका छन्। आर्थिक गतिविधि बढ्न नसकेको अवस्थामा ऋण असुलीमा केन्द्रित रहेर दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन सबल बनाउन सीइओहरु देश दौडाहामा निस्किएका हुन्।
ब्याजदर घट्दै गइरहे पनि व्यवसाय विस्तार गर्न नसकेपछि बैंकहरुलाई ऋण असुली गरेर अर्धवार्षिक रिपोर्ट राम्रो बनाउनुपर्ने चुनौती छ।
असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको औसत निष्कृय कर्जा (एनपीए) ४.४२ प्रतिशत छ। बढ्दो एनपीएका कारण कर्जा नोक्सानी बढिरहेको छ।
कर्जा नोक्सानी बढ्नु भनेको बैंक तथा वित्तीय संस्थाहरुको नाफामा संकुचन हुनु हो। कर्जा नोक्सानीका लागि छुट्याएको रकम असुलीपछि नाफामा देखिने भएपनि अहिलेलाई भने असर गर्छ।
नयाँ व्यवसाय बढाउन नसकेको अवस्थामा एनपीएमा सुधार गर्दै कर्जा नोक्सानी घटाउनु पर्ने तथा असुलीमा केन्द्रित भइ नाफा बढाउनु पर्ने चुनौती रहेको बैंकरहरु बताउँछन्।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ पुस लागेपछि कर्जा असुलीमा केन्द्रित भइरहेको बताउँछन्।
‘दोस्रो त्रैमासमा वित्तीय विवरण राम्रो बनाउनु पर्ने चुनौती छ। नयाँ व्यवसाय सुस्त छ। बैंकमा लगानीयोग्य रकम थुप्रिएको छ। अन्तत: लगानी बढाउन नसक्दा थुप्रिएको तरलताले नाफा संकुचन नै गर्छ,’ उनले भने, ‘त्यसैले अहिले ऋण असुलीमा केन्द्रित भइरहेका हौं।’
व्यवसाय बढाउन नसकेकाले अहिले बैंकको ठूलो टिम नै ऋण असुलीमा केन्द्रित भइरहेका उनको भनाइ छ।
‘अझै पनि धेरैले कर्जा तिर्न नसकेको अवस्था छ। असुलीको अवस्था बुझ्न र ऋणीसँग भेटेर उनीहरुको अवस्था नियाल्न म आफैं विभिन्न जिल्ला पुगेको थिएँ। समस्यामा परेका ग्राहकहरुसँग भेट भयो। धेरैले कर्जा तिर्न समय चाहिने बताएका छन्। केहीले कर्जा तिर्न नसकिने भनेर हात उठाएको अवस्था पनि छ,’ खालिङले भने।
कोभिड्कालमा राष्ट्र बैंकले दिएको सुविधाका कारण बैंकहरु कर्जा प्रवाहमा एग्रेसिभ बने। अधिकांश कर्जा प्रयोजन बाहिर खर्च भएकाले अहिले असुली प्रभावित भइरहेको छ।
एकातिर, खराब कर्जा बढिरहेका कारण नाफा प्रभावित हुने सम्भावना बढेको छ भने अर्कातिर लगानी प्रोडक्टिभ क्षेत्रमा गर्नुपर्ने चुनौती छ।
नेपाल बैंकले कर्जा असुलीका लागि आफ्ना कर्मचारीलाई उद्योग व्यवसायीका घरघरमै खटाएको छ। नेपाल बैंकका सीइओ तिलकराज पाण्डेय आर्थिक शिथिलताका कारण असुलीमा साह्रै सुधार हुन नसकेको बताउँछन्।
‘हामीले कर्जा असुलीका लागि दैनिक चिठी लेख्ने र टेलिफोन गर्नुका अलावा कर्मचारीलाई उद्योगी व्यवसायीका घरघरमा पठाउनेसम्म गरिरहेका छौं’ सीइओ पाण्डेयले भने, ‘हाम्रो कर्जाको ठूलो हिस्सा स्टिल, सिमेन्ट, खानी क्षेत्रमा छ। खानी क्षेत्रमा अहिले केही राम्रो भएपनि अन्य क्षेत्रमा सुधार हुन सकेको छैन। त्यसैले असुली पनि अपेक्षाजनक भइरहेको छैन।’
राष्ट्र बैंकले साँवा ब्याज तिर्न निर्माण व्यवसायीलाई मंसिर मसान्तसम्मको म्याद दिएको थियो। तर धेरै निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाएको भनेर तिरेका छैनन्। जसका कारण एनपीए बढ्ने अवस्था रहेको पाण्डेयले बताए।
‘साना साना व्यवसायको कर्जा बिग्रिएको अवस्था छ। निर्माण क्षेत्रमा गएको कर्जा पनि उठिरहेको छैन। व्यवसायीले सरकारी कामको भुक्तानी पाउन नसकेको भनेर साँवा ब्याज बुझाएका छैनन्। यी सबै कारण एनपीए बढ्ने देखिन्छ,’ उनले भने।










