कुलमानको अग्रसरताले काम गर्‍यो, बाढीले बन्द माथिल्लो तामाकोशीबाट १२० मेगावाट विद्युत उत्पादन



बिजमाण्डू
२०८१ पुष ९ गते २०:१५ | Dec 24, 2024
कुलमानको अग्रसरताले काम गर्‍यो, बाढीले बन्द माथिल्लो तामाकोशीबाट १२० मेगावाट विद्युत उत्पादन

काठमाडौं। सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट आंशिकरुपमा विद्युत् उत्पादन सुरु भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको अग्रसरतापछि माथिल्लो तामाकोशी मंगलबार साँझबाट संचालनमा आएको हो।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्‍याएका संरचना आंशिक मर्मत सम्भार गरी ८८ दिनपछि मंगलबार बेलुका ७.४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ।

हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्णरुपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको प्राधिकरणले जनाएको छ।

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि आयोजनाबाट विद्युत् उत्पादन बन्द थियो।

असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्र्याउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुगेको थियो।

गोङ्गरस्थित विद्युतृ गृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब ३०० मिटर पहुँचमार्ग खण्डमा ठूल्ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएकामा विस्फोटक पदार्थ प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो।

केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो।

दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको आंशिक मर्मत सम्भार सकी विद्युत् उत्पादनका लागि तय गरिएको समय तालिकाभन्दा एक दिन अघिबाट उत्पादन सुरु गरिएको हो।

आंशिकरुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिएको छ। यसैगरी, कल्भर्टको भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गरी मर्मत गरिएको छ।

पहिरोले क्षति पुर्‍याएको डिस्याण्डर आंशिकरुपमा मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रुपमा सञ्चालनमा ल्याइएको हो। डिस्याण्डरको बाँकी मर्मत सम्भार भइरहेको छ।

उक्त काम सम्पन्न भएपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय (पिक)मा केन्द्रलाई ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

उनीहरुका अनुसार केन्द्रलाई पुसभित्र पिक समयमा चलाउन सक्ने गरी मर्मत सम्भार भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले मंसिर १८ गते स्थलगत अनुमगन गरी पुस १० भित्रमा मर्मत सम्भार सकेर विद्युत उत्पादन गर्न निर्देशन दिएका थिए।

उनले माथिल्लो तामाकोशीको सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयास र रातदिनको खटाईबाट मर्मत सम्भार सम्पन्न भई तालिकाभन्दा एक दिनअघि नै विद्युत् उत्पादन सुरु गर्न सफल भएको बताए।

‘डिस्याण्डरमा ढुंगा, लेदोलगायत थुप्रिएको थियो। पहिरोमा परी दुईजना कर्मचारी र सुरक्षार्थ खटिएका दुई जना सैनिकले ज्यान गुमाएकाले कर्मचारीमा डरत्रास थियो। पहुँच मार्गसमेत थिएन। विद्युत् आपूर्ति बन्द थियो। यस्तो अवस्थामा मर्मत सम्भार अगाडि बढाउनु ज्यादै चुनौतीपूर्ण थियो,’ उनले भने, ‘चुनौतीलाई सबैको साथ र सहयोगबाट सामाना गर्दै मर्मत सम्भार सम्पन्न गरी आंशिकरुपमा विद्युत् उत्पादन गर्न सफल भएका छौं।’

उनले माथिल्लो तामाकोशी संचालनमा आएसँगै विद्युत् आपूर्ति व्यवस्थापन गर्न अब सहज हुने बताए। ‘अब सन्तुलन कायम गरी पिक समयमा विद्युत् आपूर्ति गर्न सहज हुनेछ,’ उनले भने।

प्राधिकरणले माथिल्लो तामाकोशी बन्द रहेको, अन्य आयोजनाको उत्पादन घटेको र भारतले पिक समयमा विद्युत नदिएका कारण औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्न थालेको थियो।

माथिल्लो तामाकोशीका सीइओ मोहनप्रसाद गौतमले सञ्चालक समिति र विज्ञ समूहको सुझावहरुलाई समेटेर कार्ययोजना बनाइ तीव्र गतिमा काम गरेकाले तोकिएको दिनभन्दा अगाडि नै विद्युत् उत्पादन गर्न सफल भएको बताए।

उनले दायाँतर्फको अर्को डिस्याण्डरको मर्मत आगामी वर्षायाम सुरु हुनु अगाडि सक्नका लागि निर्माण व्यवसायी छनोट गर्न टेण्डर आह्वान गरिसकेको जानकारी दिए।