काठमाडौ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपपटक नियमित व्यावसायिक उडान हुने भएको छ। हिमालय एयरलाइन्सले पोखरामा उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग अनुमति मागेको छ।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हिमालय एयरलाइन्सले पोखरा-ल्हासा सातामा २ दिन उडान गर्न अनुमति मागेको जानकारी दिए।
‘पोखराबाट नियमित व्यावसायिक उडानका लागि हिमालय एयरलाइन्सले हामीसँग अनुमति मागेको छ। हामीले अनुमति दिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छौं,’ भूलले भने।
हिमालयले फागुन १७ गतेबाट चैत १६ गतेसम्म सातामा २ दिन व्यावसायिक उडान गर्ने योजना पेस गरेको छ। सातामा सोमबार काठमाडौं-ल्हासा-पोखरा र मंगलबार पोखरा-ल्हासा-काठमाडौं उडान गर्ने प्रस्ताव एयरलाइन्सले क्यानसामु गरेको हो।
हिमालय एयरलाइन्सले ल्हासामा हाल काठमाडौंबाट साताको दुईवटा उडान गर्दै आएको छ। काठमाडौं-ल्हासा हवाई दूरी सवा घण्टाको रहेकामा पोखरा-ल्हासा उडान डेढ घण्टाको हुनेछ।
हिमालय एयरलाइन्सले हाल तीनवटा एयरबस ३२०-२१४ र एउटा एयरबस ३१९-११५ जहाजमार्फत बेइजिङ, चोङ्किङ्, क्वालालाम्पुर, दोहा, दमाम, दुबई, रियाद, ढाका र कुवेतमा नियमित उडान गर्दै आएको छ।

पोखरामा ल्हासाबाट पर्यटक ल्याउन सकिने सम्भावना देखेर उडान गर्ने तयारी अगाडि बढाएको एयरलाइन्सका एक कर्मचारीले बताए।
‘चिनियाँ पर्यटकलाई पोखरा ल्याउन सकिने सम्भावना देखेर पहिलो चरणमा हामीले एक महिने योजना बनाएका छौं। उडानका लागि क्यानमा पत्राचारका अलावा अरु सबै तयारी अगाडि बढाएका छौं,’ एयरलाइन्सका ती कर्मचारीले भने।
कम्पनीले एयरबस-३१९-११५ मार्फत उडान गर्ने तयारी अगाडि बढाएको छ। यो जहाजमा एकपटकमा १४४ यात्रुले सेवा लिन सक्नेछन्। पोखरा-ल्हासाका लागि सुरुवाती भाडादर २५० अमेरिकी डलर अर्थात ३४ हजार ३०० रुपैयाँ तोक्ने कम्पनीको तयारी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गरेको चीन भ्रमणपछि हिमालय एयरलाइन्स पोखरामा उडान गर्न सहमत भएको हो। ओली मंसिर १७ गते हिमालय एयरलाइन्सकै जहाज चढेर चीन गएका थिए भने २० गते त्यही कम्पनीको जहाजमा फर्किएका थिए।

सरकारले साउन २८ गते नै पोखरामा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा प्रदायक कम्पनीलाई विभिन्न किसिमका छुट दिने व्यवस्थासहितको कार्यविधि स्वीकृत गरेपनि अहिलेसम्म कुनै कम्पनीले पनि नियमित व्यवसायिक उडान गरेका छैनन्। यो विभानस्थल चीनको ऋण सहयोगमा दुई वर्षअघि निर्माण भएको हो।
एयरलाइन्समा चीनको तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी र नेपालको यती वर्ल्ड इन्भेष्टमेन्टको संयुक्त लगानी छ।
क्यानले पोखरामा अन्तर्राष्ट्रिय उडान गर्ने विषयमा नेपाल वायुसेवा निगम (एनएसी) र हिमालय एयरलाइन्ससँग गत कात्तिक २७ गते छलफल गरेको थियो। तर एनएसीले अहिलेसम्म पोखरामा अन्तर्रराष्ट्रिय उडान गर्ने सुरसार गरेको छैन।











