काठमाडौं। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वालफायरको खेलमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो।
आज सम्पन्न पहिलो क्वालिफायरको खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। सुरुवाती ब्याटिङ गरेको बोल्ट्सले जिम्मी निशमको सानदार ब्याटिङको सहायतामा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो।
जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो। सुदूरपश्चिमको जितमा बिनोद भण्डारीको संयमित ब्याटिङसहितको अर्धशतक महत्त्वपूर्ण रह्यो।
सुदूरपश्चिमका लागि ओपनरद्वय सैफ जैब र बिनोद भण्डारीले पहिलो विकेटको लागि ५६ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए। २१ बलमा ३२ रन बनाएका जैब ७.३ ओभरमा किशोर महतोको बलमा जिम्मी निशमबाट क्याचआउट भए।

त्यसपछि इनिङ्स उकास्ने जिम्मेवारी भण्डारी र ब्राण्डन म्याकमुलनले लिए। यी दुईले दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। २५ रन बनाएका म्याकमुलन १४.१ ओभरमा ललित राजवंशीको बलमा जिम्मी निशमबाट क्याचआउट भए।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी १६ बलमा २० रन बनाउँदै अविजित रहँदा भण्डारी ५५ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रनमा अविजित रहे।
बलिङतर्फ जनकपुरका ललित राजवंशी र किशोर महतोले समान १ विकेट लिए।
आजको पराजयको बावजुत जनकपुरले बिहीबार दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ। आजै सम्पन्न इलिमिनेटरको खेलमा चितवन राइनोजलाई पाखा लगाउँदै कर्णाली याक्सले क्वालिफायरमा स्थान बनाएको थियो।
जनकपुरको इनिङ्स
प्रतियोगिताको पहिलो क्वालिफायरको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।
टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरका लागि जिम्मी निशमले सर्वाधिक ४५ रनको योगदान दिए। अघिल्लो खेलमा पनि उनले चितवनविरुद्ध २४ बलमा ६५ रन बनाएका थिए।
नियमित कप्तान अनिलकुमार साह चोटका कारण प्लेइङ ११ बाहिर रहँदा बोल्ट्सको कप्तानी आशिफ शेखले गरिरहेका छन्।
जनकपुरका ओपनर लाहिरु मिलन्था र आशिफ शेखले पहिलो विकेटका लागि १९ रनको साझेदारी गरे। २.५ ओभरमा १२ रन बनाएका मिलन्था दीपेन्द्रसिंह ऐरीको बलमा एलबीडब्लु आउट भए। अर्का ओपनर आशिफ शेख ११ रन बनाएर ५.५ ओभरमा सैफ जैबको बलमा बोल्डआउट हुन पुगे।
तेस्रो विकेट शुभ कंशाकारको गुम्यो। २४ बलमा २६ रन बनाएका उनी क्रिजमा हर्ष ठाकरसँग असमझदारीकाबीच रनआउट हुन पुगे।

त्यस्तै हर्ष १२ रन बनाएर जैबकै बलमा ब्राण्डन म्याकमुलनबाट क्याचआउट भए। अर्का ब्याटर अरनिको यादव ११ रन बनाएर ऐरीबाट एलबीडब्लु आउट हुन पुगे।
जनकपुरका लागि जिम्मी निशमले आज पनि बिस्फोटक ब्याटिङ गरे। उनले २२ बलमा समान ३ चौका र ३ छक्काको सहायतामा ४५ रन बनाए। लगत्तै आएका शेर मल्ल ३ रन बनाएर ठूलो सर्ट खेल्ने सुरमा बाउन्ड्री नजिकै क्याचआउट हुन पुगे।
बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिँदा ब्राण्डन म्याकमुलनले २ तथा स्कट कुगेलेइन र नरेन साउदले समान १ विकेट लिए।











