सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकमाथि अर्थ समितिले संशोधनकर्तासँग थाल्यो छलफल



बिजमाण्डू
२०८१ पुष २ गते १७:५९ | Dec 17, 2024
सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकमाथि अर्थ समितिले संशोधनकर्तासँग थाल्यो छलफल

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक’माथि छलफल थालेको छ।

Tata
GBIME
Nepal Life

समितिले संशोधनकर्ता सांसदहरुलाई बोलाएर मंगलबारदेखि विधेयकमाथि छलफल थालेको हो। समितिको बैठक सोमबार गणपूरक संख्या नपुगेर स्थगित भएको थियो।

राष्ट्रिय सभाबाट पारित विधेयकमा प्रतिनिधि सभाका छ सांसदले संशोधन प्रस्ताव दर्ता गराएकामा मंगलबार तीन सांसदको संशोधन प्रस्तावमाथि छलफल भएको छ।

समितिले माधव सापकोटा, दामोदर पौडेल बैरागी र सोविता गौतमले दर्ता गराएको संशोधन प्रस्तावमाथि छलफल गरेको हो।

सांसद सापकोटाले विधेयकमा राखिएको सुरक्षित भन्ने शब्दले सैद्धान्तिक अवधारणामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कुनै व्यक्ति तथा निकायबाट गरिने सबै किसिमका कारोबार समेटिएको छ वा छैनन् भनेर यकिन गर्नेगरी विधेयक संशोधन गरिनुपर्ने बताए।

मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्राप्त योग्यताको प्रमाणपत्र एवम् सीपको प्रमाणपत्रलाई पनि धितोका रुपमा परिभाषित गर्नुपर्ने उनको भनाइ छ।

सांसद सोविता गौतमले धितो सम्पत्ति भन्नाले ‘चल, अचल र अमूर्त सम्पत्तिलाई जनाउने’ भन्ने व्यवस्था विधेयकमा राख्नुपर्ने बताइन्। सरकारले २०८० फागुन ४ गते विधेयक राष्ट्रिय सभामा दर्ता गरेको थियो।