अविश्वासको प्रस्ताव पारित भएसँगै कोरियाली राष्ट्रपति योल निलम्बित, संवैधानिक अदालतले के गर्ला ?



बिजमाण्डू
२०८१ मंसिर २९ गते १४:१७ | Dec 14, 2024
अविश्वासको प्रस्ताव पारित भएसँगै कोरियाली राष्ट्रपति योल निलम्बित, संवैधानिक अदालतले के गर्ला ?
Photo : Getty Images

दक्षिण कोरियाको संसदले राष्ट्रपति युन सुक योलमाथिको अविश्वास प्रस्ताव पारित गरेको छ। योलले घोषणा गरेको ‘मार्सल ल’ असफल भएपछि दोस्रोपटक राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको हो।

Tata
GBIME
Nepal Life

योलले लागू गरेको ‘मार्सल ल’ दुई घण्टा पनि टिकेको थिएन। त्यसपछि विपक्षी र सत्तारुढ दलले नै योललाई राजीनामा दिन भनेका थिए। तर, योलले मानेन्।

गत साता पनि विपक्षी दलले योलविरुद्ध प्रस्ताव गरेको अविश्वासको प्रस्तावमा मतदान भएको थियो। सत्तारुढ दलका केही सांसदले बहिष्कार गरेपछि प्रस्ताव पारित हुन सकेको थिएन।

आज सत्तारुढ दलका सांसद समेतले योलविरुद्ध मतदान गरेका थिए। ३०० जना सांसदमा २०४ जनाले योललाई हटाउने प्रस्तावको समर्थन गरेका थिए। ८५ जनाले विपक्षमा मतदान गरेका थिए।

योललाई हटाउने प्रस्ताव पारित भए पनि उनी तत्काल पदबाट हट्ने भने छैनन्। अब यो विषय संवैधानिक अदालतमा जानेछ। त्यसबेलासम्म राष्ट्रपतिले कुनै सरकारी कामकारबाहीमा सहभागी हुन पाउनेछैन। यसको अर्थ योल हाल निलम्बित भएका छन्।

संवैधानिक अदालतका ९ सदस्यीय न्यायधीशमा ६ जनाले योललाई हटाउने फैसला गरे उनी पदमुक्त हुनेछन्। यसका लागि अझै केही हप्ता लाग्नेछ।

संवैधानिक अदालतले हटाउने फैसला गरेपछि ६० दिनमा अर्को राष्ट्रपति निर्वाचन हुने गरि प्रक्रिया अघि बढ्नेछ। यदी अदालतले राष्ट्रपतिलाई पदमुक्त गर्न नमाने उनी कार्यालय फर्किन पाउनेछन् र पूरा कार्यकाल काम गर्न सक्नेछन्।

विपक्षी डेमोक्रेटिक पार्टी आज प्रस्ताव पारित भएसँगै संसदमा खुशी व्यक्त गरेको थियो। सत्तारुढ दल पिपल पावर पार्टीले भने योललाई मार्गप्रशस्त गर्न समय दिइए पनि उनले अवज्ञा गरेको भन्दै प्रस्तावको पक्षमा मत दिनुपर्ने अवस्था आएको जनाएको छ। सत्तारुढ दलले सांसदहरुलाई स्वविवेकमा मतदान गर्न भनेको थियो।

अविश्वासको प्रस्तावमाथि मतदान भइरहँदा संसद भवन बाहिर हजारौं संख्यामा नागरिकहरु भेला भएका थिए। प्रस्ताव पारित भएसँगै उनीले राष्ट्र गान गाएर खुसी मनाएका थिए।