अर्थतन्त्रलाई ओरालो लाग्नबाट रोकेको अर्थमन्त्री पौडेलको दाबी, ‘पुँजीगत खर्च वृद्धिमा केन्द्रित छौं’



बिजमाण्डू
२०८१ मंसिर २७ गते १३:१५ | Dec 12, 2024
अर्थतन्त्रलाई ओरालो लाग्नबाट रोकेको अर्थमन्त्री पौडेलको दाबी, ‘पुँजीगत खर्च वृद्धिमा केन्द्रित छौं’

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले सरकारले मुलुकको अर्थतन्त्रलाई ओरालो लाग्नबाट रोकेको तथा निजी क्षेत्रमा आत्मविश्वास बढाएको दाबी गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले रासससँगको कुराकानीमा सरकारले छोटो अवधिमा नै उल्लेखनीय काम गरेको दाबी गरेका हुन्।

‘छोटो अवधिमा उल्लेखनीय काम सम्पन्न भएका छन्। मूल कुरा मुलुक कता जाँदैछ र मुलुकको अर्थतन्त्र कता जाँदै छ भन्ने हो। हामीले मुलुकको अर्थतन्त्रलाई ओरालो लाग्नबाट रोकेका छौँ र सकारात्मक दिशातर्फ फर्काएका छौं,’ उनले भने, ‘निजी क्षेत्र लगायत उत्पादनका हरेकजसो क्षेत्रमा आत्मविश्वास बढ्दै गएको छ। अर्थतन्त्रमा सुधारका संकेतहरु देखापरेका छन् र तिनीहरुलाई अझ प्रभावकारी बनाउनु पर्नेछ।’

उनले निजी क्षेत्रमा आत्मविश्वास बढेको दाबी गरेपनि लगानी विस्तार हुन सकेको छैन। बैंकहरुले कर्जाको ब्याजदर निरन्तर घटाएर ७/८ प्रतिशतको स्किम ल्याउँदा पनि ऋण लगानी हुन नसकि तरलता थुप्रिएपछि राष्ट्र बैंकले खिच्नुपरिरहेको छ।

पौडेलले सरकार अर्थतन्त्रलाई चलायमान बनाउने र राजस्व परिचालन तथा पुँजीगत खर्च वृद्धि गर्ने कुरामा बढी केन्द्रित रहेको बताए।

‘बैंकमा सस्तो ब्याज र पर्याप्त तरलता छ। त्यसलाई उत्पादन र उत्पादकत्व वृद्धिमा, रोजगारी सिर्जनामा परिचालन गर्नुपर्ने छ। निजी क्षेत्रका जायज सरोकारहरुलाई सम्बोधन गर्नुपर्ने छ। आम नागरिकलाई रोजगारी वा स्वरोजगारीसँग जोड्नु छ, उनीहरुको आयआर्जन बढाउनु छ र समग्र मागमा वृद्धि गर्नुछ। हामी यही काममा लाग्दैछौं,’ उनले भने, ‘हामी अर्थतन्त्रलाई चलायमान बनाउने र राजस्व परिचालन तथा पुँजीगत खर्च वृद्धि गर्ने कुरामा अझ बढी केन्द्रीत भैरहेका छौं।’

उनले पुँजीगत खर्च र राजस्व परिचालनमा ध्यान केन्द्रित गरेको दाबी गरेपनि तथ्यांक भने त्यसविपरीत छ। पाँच महिनामा पुँजीगत बजेट ११.३६ प्रतिशत मात्र खर्च भएकोछ। राजस्व सचिव दिनेश घिमिरेले तस्करी नरोकिएकाले राजस्वको लक्ष्यमा ७६ प्रतिशत मात्र सफलता मिलेको बुधबार संसदीय समितिमा नै बताइसकेका छन्।