दक्षिण कोरियाली राष्ट्रपतिले घोषणा गरे ‘मार्सल ल’, सांसदलाई संसद् भवन प्रवेश गर्न सेनाले रोक्यो



बिजमाण्डू
२०८१ मंसिर १८ गते २१:०९ | Dec 3, 2024
दक्षिण कोरियाली राष्ट्रपतिले घोषणा गरे ‘मार्सल ल’, सांसदलाई संसद् भवन प्रवेश गर्न सेनाले रोक्यो
टेलिभिजन सम्बोधन मार्फत 'मार्सल ल' घोषणा गर्दै दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल । Photo : EPA

दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले देशभर ‘मार्सल ल’ (सैन्य कानुन) लागू गरेका छन्। राति टेलिभिजन सम्बोधन गर्दै उनले उत्तर कोरियाली कम्युनिष्ट समूहबाट देशलाई सुरक्षित गर्न मार्सल ल लागू गरेको घोषणा गरेका हुन्।

Tata
GBIME
Nepal Life

देश विरोधी तत्वहरुलाई तह लगाउन पनि यो व्यवस्था घोषणा गरेको उनले बताएका छन्। उनले दक्षिण कोरियालाई सुरक्षित राख्न यसबाहेक आफूसँग केही उपाय नभएको दाबी गरेका छन्।

उनले मार्सल ल कहिलेसम्म लागू हुने र कस्तो प्रकारको व्यवस्थाहरु लागू हुन्छ भन्नेबारे केही बताएका छैनन्।

मार्सल ल लागू भएसँगै दक्षिण कोरियाली सेनाले सबै प्रकारको संसदीय कारबाही निलम्बन गर्ने घोषणा गरिसकेको छ। संसदमा सांसदहरुलाई प्रवेशमा रोक समेत लगाइएको छ। यद्यपि, मार्सल ल कसरी कार्यान्वयन हुन्छ भन्ने अहिले अन्यौल देखिएको छ।

विपक्षी डेमोक्रेटिक पार्टीले मार्सल ल लागू गर्नु असंवैधानिक भएको बताएको छ। डेमोक्रेटिक पार्टीका नेता लि जे मुहाङले यो घोषणा विरुद्ध सडकमा ओर्लिन आह्वान गरेका छन्। उनले आफ्ना दलका सबै सांसदलाई संसद भवनमा भेला हुन भनेका छन्। दक्षिण कोरियाली कानुन अनुसार नेश्नल एसेम्बलीका बहुमत सांसदले मत दिए मार्सल ल फिर्ता लिनुपर्ने हुन्छ। मार्सल ल ले सांसदहरुलाई पक्राउ गर्न पनि संवैधानिक रुपमा रोकेको छ।

राष्ट्रपति योल सदस्य रहेको पार्टी पिपल पावर पार्टीका प्रमुख हान डङ हुनले पनि यो घोषणा गलत भएको प्रतिक्रिया दिएका छन्।

बजेटलाई लिएर विपक्षी पार्टीले सत्तारुढ दललाई घेरेको बेला सैन्य कानुन लागू गरिएको हो।

योल सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए। पपुलिस्ट मुद्दा बोकेका उनको जित पछि दक्षिण कोरियाली समाजमा ध्रुविकरण देखिएको विश्लेषण त्यहाँका सरोकारवालाहरुले भन्दै आएका छन्।