चीन अमेरिका व्यापार विवाद रोकिएन, ठूलो ब्यापार युद्धको खतरा



बिजमाण्डू
२०७५ असार १२ गते १०:१७ | Jun 26, 2018
वासिङ्टन। गएको केही महिनायतादेखि अमेरिका र चीनबीच जारी व्यापार विवाद रोकिएको छैन। बरु यो विवाद चरम उत्कर्षमा पुगेको अधिकारीहरू बताउँछन्।
 
संयुक्तराज्य अमेरिका र चीनका सरकारले एक अर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क पछिल्लो समयमा निकै बढाएका बताइएको छ। अमेरिका विश्वको पहिलो र चीन दोस्रो ठूलो अर्थतन्त्र हो। यी दुई ठूला अर्थतन्त्रबीच पछिल्लो समयमा व्यापार विवाद शुरु भएको हो। 
 
यो विवाद समाधानको सट्टा बरु झन ठूलो खिचातानी जारी रहेको बताइन्छ। कतिपय आर्थिक विश्लेषकहरूले त यसलाई एक किसीमको व्यापार युद्धको संज्ञा समेत दिएका छन्। 
 
उनीहरू भन्छन्– पछिल्लो समयमा विवाद प्रतिदिन बढ्दै छ यस्तै अवस्था जारी रहने हो भने यसले आगामी दिनमा व्यापार युद्ध नै हुनसक्ने त्रास रहन्छ। 
 
शुरुमा अमेरिकाले आफ्नो देशमा आयात हुने गरेको चिनियाँ स्टील र एलुमिनियममा पहिलेको तुलनामा निकै धेरै मात्रामा शुल्क बढाएको थियो। यसको चीनले कडा रुपमा विरोध पनि गरेको थियो। 
 
तर अमेरिकाले चीनको कुरा सुनेन। त्यसपछि यहाँ उक्त पदार्थको आयातमा पनि कमी भएको बताइएको छ। अहिले नगण्य मात्रामा मात्र कतिपय चिनियाँ वस्तुहरू अमेरिका आयात भइरहेका छन्।
 
अमेरिकाको यस व्यवहारका विरुद्धमा यता चीनले पनि अमेरिकाबाट आयात हुने कतिपय खाद्य पदार्थमा पनि रोक लगाएको पाइएको छ। अमेरिकालाई जवाफ दिएकै शैलीमा चीनले सुङ्गुरको मासु, मदिरा र फलफूलजस्ता पदार्थको आयातमा भन्सार शुल्क बढाएको छ।
 
विश्वका यी दुई ठूला अर्थतन्त्रबीच चलिरहेको यस अवस्थाले विश्वका अरु पनि देशहरूमा आर्थिक सङ्कटहरू निम्त्याउन सक्ने खतरा बढाएको बताउन थालिएको छ। 
 
तर दुवै देश यी अघिका निर्णयहरूबाट पछि हट्नुको सट्टा आ–आफ्नो व्यापारिक हितको रक्षा गर्ने होडका साथ अघि बढेका आर्थिक क्षेत्रका जानकारहरूको अनुभव छ।

Tata
GBIME
Nepal Life