भारतीय अर्बपति गौतम अडानीविरुद्ध अमेरिकामा ठगीको आरोपमा मुद्दा दायर

बिजमाण्डू
२०८१ मंसिर ६ गते ०८:२४ | Nov 21, 2024
भारतीय अर्बपति गौतम अडानीविरुद्ध अमेरिकामा ठगीको आरोपमा मुद्दा दायर


भारतीय अर्बपति गौतम अडानीलाई अमेरिकामा ठगीको आरोप लागेको छ। उनीमाथि पैसा उठाउन २५ करोड डलरको घूसको योजना बनाएको र त्यसलाई गुपचुप राखेको आरोप लगाइएको हो

Tata
GBIME
NLIC

६२ वर्षीय अडानीविरुद्ध न्यूयोर्कमा बुधबार आपराधिक मुद्दा दायर गरिएको छ। भारतका सबैभन्दा धनी व्यक्तिमध्येका एक अडानीको व्यापार साम्राज्य बन्दरगाह र विमानस्थलदेखि नवीकरणीय ऊर्जासम्म फैलिएको छ।

अभियोगपत्रमा टाइकुन अडानी र अन्य वरिष्ठ अधिकृतहरूले २० वर्षमा २ अर्ब डलरभन्दा बढी नाफा कमाउने अपेक्षा गरिएको उनको नवीकरणीय ऊर्जा कम्पनीका लागि ठेक्का पार्न भारतीय अधिकारीहरूलाई पैसा दिन सहमति गरेको उल्लेख छ।

एक हाई-प्रोफाइल कम्पनीले ठगीको आरोप लगाउँदै रिपोर्ट प्रकाशित गरेपछि अडानी समूहले सन् २०२३ देखि अमेरिकामा गुपचुप रुपमा काम गरिरहेको खबर बाहिर आएको थियो। उक्त दाबी पछि सेयर बजारमा प्यानिक सेलको अवस्था आएको थियो। ती दाबीहरूको भने अडानीले अस्वीकार गरेका थिए।

यो घूसको योजनामाथि अनुसन्धान भइरहेको रिपोर्ट महिनौंदेखि चर्चामा थियो। अमेरिकाले २०२२ मा कम्पनीको अनुसन्धान सुरु गरेको र अनुसन्धानमा अवरोध भएको पाइएको अभियोजकहरूको दाबी छ।

कम्पनीको भ्रष्टाचारविरोधी अभ्यास र नीतिहरूका साथै घूस योजना अनुसन्धानको रिपोर्टहरूसँग सम्बन्धित झुटा र भ्रामक तथ्यका आधारमा अडानी समूहले अमेरिकी कम्पनी लगायतबाट ऋण र बन्डहरूसमेत गरेर ३ अर्ब डलर उठाएको आरोप अभियोजकहरूले लगाएका छन्।

‘अभियोगमा भनिएजस्तै, प्रतिवादीहरूले भारतीय सरकारी अधिकारीहरूलाई अरबौं डलरको ठेक्का सुरक्षित गर्न घूस दिने विस्तृत योजना बनाए र… उनीहरूले अमेरिकी र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट पुँजी जुटाउन घूस योजनाको बारेमा झुट बोलेका थिए,’ अमेरिकी अधिवक्ता ब्रियोन पीसले भने।

घूस योजनालाई अगाडि बढाउन अडानीले पटक-पटक सरकारी अधिकारीहरूसँग व्यक्तिगत रूपमा भेटेको अधिकारीहरूले बताएका छन्।

अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकटका हुन्। लामो समयदेखि विपक्षी राजनीतिज्ञहरूको अडानीले आफ्नो राजनीतिक सम्बन्धबाट फाइदा उठाएको आरोप लगाउँदै आएका छन्। जसलाई उनी अस्वीकार गर्छन्।

अमेरिकामा अधिवक्ताहरू राष्ट्रपतिद्वारा नियुक्त गरिन्छ। डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेर अमेरिकी न्याय विभागलाई फेरबदल गर्ने वाचा गरेको केही हप्तापछि यो मुद्दा अघि बढेको हो।

गत हप्ता अडानीले सामाजिक सञ्जालमा ट्रम्पलाई चुनाव जितेकोमा बधाई दिँदै अमेरिकामा १० अर्ब डलर लगानी गर्ने वाचा गरेका थिए।