बिदाबारे ढिलो निर्णयको असर : राहदानी विभाग पुगेका सेवाग्राहीको काम हुँदै, अदालतमा पेसी चढेन



बिजमाण्डू
२०८१ मंसिर ३ गते १२:२६ | Nov 18, 2024
बिदाबारे ढिलो निर्णयको असर : राहदानी विभाग पुगेका सेवाग्राहीको काम हुँदै, अदालतमा पेसी चढेन
File Photo

काठमाडौं । आज सरकारी कार्यालय समय सुरु हुनुभन्दा करिब आधा घण्टा अगाडि सरकारले सार्वजनिक बिदा दिने घोषणा गर्‍यो।

Tata
GBIME
Nepal Life

पूर्व सभामुख दमननाथ ढुंगानाको निधनमा शोक मनाउन सरकारले बिदा दिएको हो। तर, जुन समयमा बिदा दिइयो त्यसका कारण सरकारी कर्मचारीहरू अलमलमा परे। सेवाग्राहीलाई पनि सास्ती भयो।

सरकारले निर्णय गरेर गृह मन्त्रालयले सूचना प्रकाशित गर्दा बिहानको पौने ११ नै बजिसकेको थियो। त्यसैले केही समय खुलेका सरकारी कार्यालयहरू त्यसपछि बन्द भए।

सर्वोच्च अदालतले पेसी सूची नतोक्दै सार्वजनिक बिदाको जानकारी आएकाले सोमबार देशभरका अड्डा अदालत खुलेनन्। जसकारण सोमबार कुनै पनि पेसी चढेन। तर, अदालतका अधिकांश न्यायाधीशदेखि कर्मचारी भने बिदा घोषणा नहुँदै कार्यालय पुगेका थिए। जिल्ला अदालतहरु र विशेष अदालतको अवस्था पनि त्यही नै रह्यो।

विशेष अदालतमा हेर्दाहेर्दैमा रहेका मुद्दाको सुनुवाइ आज थियो। धेरैको चासो रहेको वाइडबडी प्रकरणको सुनुवाइ आज थियो। तर, सार्वजनिक बिदाका कारण पेसी चढेन।

‘सबै कर्मचारी र न्यायाधीशहरु पुगिसक्नु भएको थियो। सार्वजनिक बिदाको सूचना आएपछि अदालत बन्द भएको हो,’ विशेष अदालतका सूचना अधिकृत यज्ञराज रेग्मीले भने।

सेवाग्राहीको धेरै भीड हुने र आवश्यक कामकाजी कार्यालयमा पर्छ राहदानी विभाग। काठमाडौं मात्र नभएर देशका विभिन्न जिल्लाबाट द्रुत सेवा लिन यस कार्यालयमा सेवाग्राही पुग्ने गरेका छन्।

सोमबार सरकारले दिएको सार्वजनिक बिदाले यस कार्यालय पनि अछुतो रहेन। अधिकांश कर्मचारी र सेवाग्राही कार्यालय समय अघि नै पुगेका थिए। जसकारण आएका सेवाग्राहीलाई मध्यनजर गर्दै त्यहाँ काम भइरहेको छ।

‘हामीले कार्यालयमा सेवा लिन भित्र आइसेका सेवाग्राहीलाई फर्काउने कुरा भएन। आज साढे २ बजेसम्मको लागि कार्यालय खुल्ला गरेका छौँ,’ विभागका प्रवक्ता विवेक रिजालले भने।

यस्तै, विभागले लाइनमा बसिसकेका र कार्यालयभित्र प्रवेश गरेका सेवाग्राहीलाई सेवा दिइरहेको दाबी गरेको छ। त्यसपछि भने कार्यालय बन्द हुनेछ।

सरकारले १० बजेभन्दा अघि मात्रै बिदा घोषणा गरेकालेले विभिन्न सरकारी कार्यालयहरू पुगेका कर्मचारी भने फर्किएका छन्।