काठमाडौं। नेपाल आयल निगमले हवाईजहाजमा इन्धन भर्न आवश्यक पर्ने ६ वटा रिफ्युलर खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। त्यसका लागि अन्तिम परीक्षण गर्न निगमले इन्जिनियरसहितको टोलीलाई दिल्ली पठाएको छ।
निगमले ६ वटा नयाँ हवाई इन्धन रिफ्युलर खरिद गरेको हो। यसको ठेक्का टाइटेन एसियाले पाएको थियो। कम्पनीले ती रिफ्युलर ९ करोड रुपैयाँमा निगमलाई बिक्री गर्नुपर्ने छ। कम्पनीले यही डिसेम्बर अन्तिमसम्म उक्त रिफ्युलर निगमलाई दिनुपर्ने छ।
निगमले नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरी अधिकांश विमानस्थलपरिसरमै हवाई इन्धन डिपो स्थापना गरेको छ। यी डिपोबाट धावनमार्गमा रहेका विमानहरूसम्म पुगेर तेल भर्न रिफ्युलर प्रयोग हुने गरेको छ।
यसमा सबै प्रकारका उपकरणहरु ट्यांकी, पम्पिङ मेसिन, मिटर लगायतका सबै इक्विपमेन्ट त्यसैमा जोडिएको हुन्छ। रिफ्युलर खरिद गरेर निगमलाई उपलब्ध गराउन चाहने कम्पनीले प्रक्रिया र कागजात पुर्याएर निगममा आवेदन दिन सक्नेछ।










