काठमाडौं । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माण कार्य तिहारमा पनि निरन्तर चलिरहेको छ। तिहारको बिदाका दिनहरुमा समेत तनहुँ जलविद्युत् आयोजनाको निर्माणले निरन्तरता पाएको हो।
आयोजना निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले कामलाई निरन्तरता दिइएको आयोजना कार्यालयले जनाएको छ। दिउँसो र राति गरी दुई ‘सिफ्ट’मा निर्माण भइरहेको छ।
चरण-१ मा बाँध निर्माणका लागि जग हाल्ने कार्य धमाधम भइरहेको छभने चरण-२ मा मुख्य सुरुङको ‘क्रङ्क्रिट लाइनिङ’ र विद्युत् गृहको काम भइरहेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिए। उनका अनुसार दुई चरणमा दुई सय जना जनशक्ति परिचालन गरी काम भइरहेको छ। यसअघि दसैंमा समेत आयोजनाको काम निरन्तर गरिएको थियो।
सिफ्टमा आलोपालो मिलाएर तिहारलगत्तै काममा फर्किने गरि केही नेपाली कामदारलाई बिदा दिइएको छ। अधिकांश कामदारले भने काम गरिरहेका आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।
‘आयोजनाको तीन चरणमध्ये अहिले दुईवटा चरणमा निरन्तर काम सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो, “निर्धारित समयमा निर्माण सम्पन्न गर्न चाडपर्वमा पनि काम रोकेका छैनौँ ।”
चरण-१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालिले गरिरहेको छ। चरण-२ अन्तर्गत पावरहाउसतर्फको काम तीव्र रूपमा भइरहेको प्रमुख भण्डारीले बताए। उनका अनुसार सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम भइरहेका छन्।
चरण-२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ। भूमिगत विद्युत् गृह खन्ने कार्य सम्पन्न गरि कङ्क्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युत्गृहमा रहने उपकरण जडानलगायत कार्य भइरहेका छन्। आयोजनाको समग्र मूल्याङ्कन गर्दा हालसम्म ६२ प्रतिशत काम पूरा भएको भण्डारीले जानकारी दिए।
पुँजी संरचना तथा वित्तीय व्यवस्थापनका लागि प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरि ५० करोड ५० लाख अमेरिकी डलर रहेको आयोजना कार्यालयले जनाएको छ।
एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरि वित्तीय व्यवस्थापन गरिएको छ।











