उद्योग संगठन मोरङलाई सीएसीसीआइ अवार्ड, अध्यक्ष नेतृत्वको टोली सिंगापुर जाने



बिजमाण्डू
२०८१ कात्तिक १७ गते ०६:३१ | Nov 2, 2024
उद्योग संगठन मोरङलाई सीएसीसीआइ अवार्ड, अध्यक्ष नेतृत्वको टोली सिंगापुर जाने

विराटनगर। उद्योग संगठन मोरङ कन्फिडरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स इन्डस्ट्रिज (सीएसीसीआई)–द्वारा प्रदान गरिने लोकल चेम्बर अवार्ड बिग चेम्बर क्याटोगरीका लागि छनोट भएको छ। सीएसीसीआईमा २७ मुलुकका व्यावसायिक संगठनका राष्ट्रिय समिति सदस्य छन्। नेपालको एफएनसीसीआई यसको सदस्य संगठन हो।

Tata
GBIME
Nepal Life

जसअनुसार सबै सदस्य मुलुककै स्थानीय चेम्बरबाट उद्योग संगठन उत्कृष्ट ठहरिएको हो। संगठनका महानिर्देशक चूडामणि भट्टराईका अनुसार यस प्रक्रियामा सर्वप्रथम २७ मुलुककै आबद्ध संगठनले आआफ्ना देशका ३ वटा स्थानीय चेम्बरलाई छनोट गरेका थिए। यसपछि प्रतिस्पर्धामा २७ देशका ८१ चेम्बर थिए।

सीएसीसीआईले गत जुलाईदेखि ८१ वटै चेम्बरका दस्तावेज, गतिविधि र दृष्टिकोणको अध्ययन गर्न थाल्यो। यसपछि दुई हप्ताअघि उद्योग संगठनसहित दक्षिण कोरिया र रसियाका एक–एक गरी ३ वटा लोकल चेम्बर छनोटमा परे।

महानिर्देशक भट्टराईले भने, ‘शुक्रबार ३ वटै चेम्बरको अन्तर्वार्ता थियो। जसबाट हामी छनोट भयौँ।’ उनका अनुसार सीएसीसीआईको नोभेम्बर ११ र १२ मा सिंगापुरमा हुने ३८ औँ कन्फ्रेन्समा संगठनलाई उक्त अवार्ड प्रदान गर्ने कार्यक्रम छ।

संगठनका अध्यक्ष राकेश सुरानाले आफूसहितको टोली अवार्ड ग्रहण गर्न सिंगापुर जाने जानकारी दिए। उद्योग–व्यवसायका मुद्दामा संगठनले निरन्तर गरेको पैरवी र राख्दै आएका दृष्टिकोणका कारण अन्तर्राष्ट्रिय स्तरको अवार्ड पाउन सम्भव भएको उनले बताए।

सीएसीसीआईमा दक्षिण एसियाबाट नेपालसहित बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाका चेम्बरका केन्द्रीय संगठन सदस्य छन्। त्यस्तै अस्ट्रेलिया, न्युजिल्यान्ड, पपुआ न्युगिनी, टिमोर लेसे, हङकङ, जापान, कोरिया, मंगोलिया, ताइवान, रसिया, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर र भियतनामका चेम्बर पनि यसमा सदस्य छन्।

ताइवानमा केन्द्रीय कार्यालय रहेको यस यस संगठनमा अजरबैजान, जर्जिया, इरान, ताजिकिस्तान, टर्की र उज्वेकिस्तानका चेम्बरका राष्ट्रिय समितिले पनि सदस्यता लिएका छन्।