लक्ष्मीपूजामा बिजुलीको पिक डिमान्ड १८३० मेगावाट हुने, प्राधिकरण भन्छ- सहजै व्यवस्थापन हुन्छ



बिजमाण्डू
२०८१ कात्तिक १४ गते १७:५३ | Oct 30, 2024
लक्ष्मीपूजामा बिजुलीको पिक डिमान्ड १८३० मेगावाट हुने, प्राधिकरण भन्छ- सहजै व्यवस्थापन हुन्छ

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन बिहिबार साँझ बिजुलीको उच्च माग (पिक डिमान्ड) एक हजार ८३० मेगावाट पुग्ने प्रक्षेपण गरेको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले गत वर्ष लक्ष्मीपूजाको दिनको तुलनामा यसपालि २०० देखि २५० मेगावाटसम्म बढी पिक डिमान्ड हुने प्रक्षेपण गरेको हो। गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड १६ सय मेगावाट पुगेको थियो।

‘पिक आवर डिमान्ड १८०० देखि १८३० मेगावाटसम्म पुग्ने अनुमान गरेका छौं। त्यसलाई सहजै व्यवस्थापन गर्न सक्छौं,’ प्राधिकरणका प्रवत्ता चन्दनकुमार घोषले भने, ‘उद्योग कलकारखाना बन्द छन्। व्यावसायिक भवनहरूमा पनि बिजुली खपत हुँदैन। धेरै ठूलो लोड नबढ्ने भएका कारण सहजै व्यवस्थापन गर्न सकिन्छ।’

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार बिहान कर्मचारीसँग छलफल गरेर मातहतका सबै निकायलाई लक्ष्मीपूजाको दिन कुनै समस्या नआओस् भनेर ‘अलर्ट’ रहन निर्देशन दिएका छन्।

प्राधिकरण र उसका सहायक कम्पनी तथा निजी क्षेत्रका आयोजना अहिले पूर्ण क्षमतामा चलिरहेका छन्। घोषले आन्तरिक ग्राहकलाई बढी भएको बिजुली मात्र भारतमा बेच्ने बताए। ‘सबै पावरहाउस पूर्ण क्षमतामा चलेका छन्। हामीलाई खासै समस्या छैन। हामीले आन्तरिक ग्राहकलाई पुर्‍याएपछि मात्र निर्यात गर्छौं,’ उनले भने।

प्राधिकरणले तिहारलाई लक्षित गरेर ट्रान्सर्फमर, तार लगायत पूर्वाधारबारे यसअघि नै जाँच गरिसकेको छ। घोषले ग्राहकले लक्ष्मीपूजाका दिन निर्धक्क भएर बिजुली बाल्दा हुने बताए।

प्राधिकरण डिमान्ड प्रक्षेपणभन्दा बढी भएमा कुलेखानी पनि चलाउने तयारीमा छ। अहिले सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो जलविद्युत आयोजना पहिरोका कारण ठप्प छ। त्यसले असर नपर्ने घोषले बताए।

‘हामीलाई पुग्ने विद्युत उत्पादन भइरहेको छ। हाम्रो प्रक्षेपणभन्दा बढी माग भएमा कुलेखानी पनि चलाउछौं,’ उनले भने, ‘लक्ष्मीपूजाको ढुक्क भएर बिजुली प्रयोग गर्दा हुन्छ।’

ठिक आठ वर्ष पहिले अर्थात् २०७३ को लक्ष्मीपूजाकै दिन काठमाडौंमा लोडसेडिङ अन्त्य भएको थियो। कुलमानले प्राधिकरणमा प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेको तीन महिनामै काठमाडौंमा लोडसेडिङ हटाएका हुन्।

कुलमानले लोडसेडिङ हटाउन परीक्षणका रूपमा लक्ष्मीपूजाको दिनलाई छानेका थिए। यही दिन नेपालमा बिजुलीको माग सबैभन्दा धेरै हुने गरेको छ। लोडसेडिङ झेलिरहेका ग्राहक लक्ष्मीपूजाका दिन रातभर बत्ती बाल्न पाएपछि कुलमानको प्रशंसक बनेका थिए।

उनले प्राधिकरणको नेतृत्व सम्हाल्नुअघि १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो। कुलमानले २०७५ वैशाख अन्तिममा देशभर लोडसेडिङ अन्त्य गरेका थिए।