काठमाडौं। सुनचाँदीको भाउ बढेर छोइनसक्नु भएपनि धनतेरसमा गहना किन्न ग्राहकको भिड लागेको छ। सुनचाँदी पसलमा मंगलबार दिउँसैदेखि ग्राहकको भिड लागेको हो।
धनतेरसको दिन सुनचाँदी, तामा लगायत धातु किने समृद्धि हुने विश्वासमा ग्राहकहरु बजारमा ओइरिएका हुन्। सुन चाँदीको मूल्य बढेर अहिलेसम्मकै उच्च भएपनि ग्राहकहरुले आफ्नो गच्छे अनुसार खरिद गरेका छन्। व्यवसायीहरुका अनुसार ग्राहकहरुले सुनचाँदी दुवै परिमाण घटाएर किनेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले ग्राहकको भिड भएपनि भाउ अत्याधिक महँगिएका कारण यसपालि अर्डर नै कम रहेको बताए। ‘धनतेरसका दिन सुनचाँदी किन्ने प्रचलन रहेकाले ग्राहकको भिड त बढेको छ। तर, विगतका वर्षमा जस्तो बिक्री छैन। अर्डर नै कम थियो,’ रसाइलीले भने।
सुन मंगलबार प्रति तोला १ लाख ६८ हजार ५०० र चाँदी २ हजार १०५ रुपैयाँमा कारोबार भएको छ।

महासंघले यसपालि तिहारमा ५० किलो सुन बिक्री हुने अनुमान गरेको छ। धनतेरसको दिनमा मात्रै सुन २० किलो र चाँदी १०० किलोसम्म बिक्री हुने अनुमान गरेको रसाइलीले बताए।
‘बजेटमार्फत भन्सार बढाएपछि सुनको भाउ बढ्न पुग्यो। अहिले अन्तर्राष्ट्रिय बजारमा नै महँगिएका कारण नेपालमा दिनदिनै उच्च मूल्यको रेकर्ड बनिरहेको छ। महँगो मूल्यका कारण ग्राहक अगाडिदेखि नै पातलिएकाले हामीले यसपालि धनतेरसमा सुन २० किलोभन्दा बढी बिक्री हुने सोचेका छैनौं,’ रसाइलीले भने, ‘एकातिर उच्च मूल्य र अर्कातिर आर्थिक शिथिलता रहँदा पनि सुनचाँदी पसलमा आज ग्राहकको फ्लो भने निक्कै नै देखियो।’

सुनचाँदी व्यवसायीले कुनै वर्ष धनतेरसका दिनमा मात्र ५० किलोसम्म सुन बिक्री गरेका थिए। सामान्य अवस्थाको तुलनामा धनतेरसका दिन तीन गुणासम्म सुनचाँदी बिक्री हुने गरेको विगतको तथ्यांक छ।
तर, यसपालि अर्डर नै ५० प्रतिशतसम्म घटेकाले बिक्री त्यस्तो उत्साहप्रद नरहेको व्यवसायीहरुले बताएका छन्। काठमाडौं अर्नामेन्ट्सका संचालक धर्मसुन्दर बज्राचार्यले मंगलबार सुनचाँदी किन्न ग्राहकको भिड लागे पनि व्यापार उत्साहजनक नरहेको बताए।
‘ग्राहकको भिड त लाग्यो। तर, अर्डर नै ५० प्रतिशतसम्म घटेको थियो,’ उनले भने, ‘अरु दिनको भन्दा व्यापार बढे पनि विगतका वर्षको जस्तो छैन। मूल्य निक्कै उच्च भएकाले ग्राहकहरुले कम परिमाणमा किनेका छन्।’

अर्का व्यवसायी माणिकरत्न शाक्यले पनि ग्राहकहरुले यसपालि परिमाण घटाएर गहना किनेको बताए। ‘अर्डर आएको परिमाण नै कम थियो। भाउ महँगो भएकाले पहिला एक तोला किन्ने ग्राहकले अहिले आधा तोला पनि किनेका छैनन्।’
व्यवसायी दियशरत्न शाक्यले दसैंपछि व्यापार नै ठप्पजस्तै रहेकामा मंगलबार कारोबार बढेको बताए। ‘धनतेरसले गर्दा आज सुनचाँदी किन्नेको संख्या राम्रै थियो। गहनादेखि चाँदीका सिक्का र भाँडाकुडाको व्यापार बढ्यो’ उनले भने, ‘तर, विगतका वर्षको धनतेरसमा भन्दा यसपालि अर्डर नै ४० प्रतिशतसम्म कम थियो।’

महासंघका अध्यक्ष रसाइलीले मंगलबार कति कारोबार भयो भन्ने कुरा थाहा पाउन एक दुई दिन लाग्ने बताए।
स्टकको सुन बिक्री
व्यवसायीहरुले नेपाल बैंकसँग किकनेर ग्राहकलाई सुन बेच्छन्। तर, बजारमा माग नरहेका कारण बैंकहरुले एक महिनादेखि सुन आयात गरेकै थिएन। बैंकहरुले कात्तिक ९ गते ३० किलो सुन आयात गरे। तर, त्यो सुन व्यवसायीकहाँ पुगेको छैन।

व्यवसायीहरुले यसपालि स्टकमा भएको सुन बेचेको बताएका छन्। ‘अर्डर धेरै नरहेकाले हामीले यसपालि स्टकको सुन बेचेका हौं। धनतेरसका लागि भनेर थप जोहो गरेका थिएनौं,’ काठमाडौं अर्नामेन्ट्सका संचालक बज्राचार्यले भने।
अर्का व्यवसायीले पनि धनतेरसमा स्टक सुनबाट काम चलाएको बताए। व्यवसायीले स्टकको सुन बेचेको भनेपनि भारतबाट ठूलो मात्रामा अवैध आयात भएको आशंका गरिएको छ। नेपालमा भन्दा भारतमा सुनको भाउ प्रति तोला १५ हजार रुपैयाँ कम छ।











