युलेन्स स्कुलको व्यापार गत वर्षभन्दा बढ्यो, एकै वर्ष ७५ करोड ६० लाख पुग्यो कारोबार



बिजमाण्डू
२०८१ असोज ९ गते ०९:२४ | Sep 25, 2024
युलेन्स स्कुलको व्यापार गत वर्षभन्दा बढ्यो, एकै वर्ष ७५ करोड ६० लाख पुग्यो कारोबार

काठमाडौं। युलेन्स एजुकेसन फाउन्डेसनको कारोबार थोरै बढेको छ। युलेन्स स्कुल सञ्चालन गरिरहेको फाउन्डेसनले सन् २०२३/२४ मा ७५ करोड ६० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। अघिल्लो वर्ष २०२२/२३ मा स्कुलले ७५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। त्यसअघि २०२१/२२ मा ६३ करोड रुपैयाँको कारोबार गरेको थियो।

Tata
GBIME
Nepal Life

गैरनाफामुलक युलेन्स एजुकेसन फाउन्डेसनले युलेन्स स्कुल (के-१२ र आइबीडीपी) सञ्चालन गरिरहेको छ। कक्षा ११ र १२ भने नेपाल सरकारअन्तर्गतको राष्ट्रिय परीक्षा बोर्ड र आइबीडीपी भने स्वीजरल्यान्डको आइबीओको सम्बन्धन प्राप्त गरेको छ।

रेटिङ एजेन्सी केयर रेटिङ्सका अनुसार के-१२ र आइबीडीपीअन्तर्गत १२ सय विद्यार्थी युलेन्समा अध्ययनरत छन्। १५० फ्याकल्टी ३ सय स्टाफ स्कुलमा कार्यरत छन्। ४० हजार वर्गफीटमा फैलिएको युलेन्समा ५ सय क्षमताको अडिटोरियम हलसमेत छ। युलेन्सले काभ्रेको नालामा आउटडोर लर्निङ सेन्टरसमेत सञ्चालन गरिरहेको छ। रिक्रिएसनल र एक्स्ट्राकरिकुलर गतिविधिका लागि नालामा निर्माण गरिरहेको सेन्टरमा ७२ विद्यार्थी र ६ शिक्षक धान्न सक्ने क्षमता छ।

युलेन्सले ६५ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। ६० करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी ट्रिपल बी माइनस र ५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एथ्री रेटिङ पाएको छ।  

युलेन्सको बोर्ड अफ ट्रस्टीमा पाँच सदस्य छन्। जसको अध्यक्षता सोमप्रसाद पनेरुले गरिरहेका छन्। पनेरुका साथै बोर्ड अफ ट्रस्टीमा हेमप्रसाद श्रेष्ठ, सजनी अमात्य, अनिता महत र डा. हेम सागर बराल छन्।