दसैंमा अनलाइनमार्फत ४३३ गन्तव्यको बस टिकट पाइने, दैनिक ४२ हजारभन्दा बढी यात्रुलाई सेवा



बिजमाण्डू
२०८१ असोज ८ गते १६:१३ | Sep 24, 2024
दसैंमा अनलाइनमार्फत ४३३ गन्तव्यको बस टिकट पाइने, दैनिक ४२ हजारभन्दा बढी यात्रुलाई सेवा

काठमाडौं। दसैंमा देशका विभिन्न ४३३ गन्तव्यको टिकट अनलाइनमार्फत बुकिङ गर्न मिल्ने भएको छ। बससेवा डटकमले यात्रुहरुको सजिलोका लागि ४३३ गन्तव्यको टिकट अनलाइनमार्फत बुकिङ गर्न मिल्ने व्यवस्था मिलाएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले दसैंका लागि दैनिक ४२ हजारभन्दा बढी टिकट बुकिङ गराउने व्यवस्था मिलाएको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिने बताए।

‘बुकिङ खुलेपछि टिकटका लागि बसपार्क वा काउन्टरमा जानुपर्ने बाध्यता हटोस् भन्ने हाम्रो चाहना हो,’ खनालले भने, ‘अनलाइनबाट टिकट काट्दा बस र सिटसमेत छान्न पाउनेछ।’ बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन्।

कम्पनीले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था गरिसकेको बताएको छ।

बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौंको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याएको छ। बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जानका लाउन्जबाट सेवा लिन सक्नेछन्।