काठमाडौं । एनसेलले प्रति कित्ता करिब ९० रुपैयाँका दरले क्लासिक टेकको सेयर खरिद गरेको छ। नेपालमा टेलिकम अपरेटरले पहिलोपटक इन्टरनेट सेवा प्रदायक खरिद गरेको हो। अहिले नेपाल टेलिकमले फोनसँगै इन्टरनेट सेवा दिइरहेको छ।
एनसेल र क्लासिक टेकबीच प्रति कित्ता करिब ९० रुपैयाँका दरले सेयर खरिदबिक्री सम्बन्धी प्रारम्भिक सम्झौता भइसकेको छ।
‘एनसेलले क्लासिक टेकको हिस्सा खरिद गर्ने भएको छ। जसका लागि प्रारम्भिक सम्झौता भइसकेको छ। एनसेलले सबै हिस्सा किनेसँगै अब क्लासिक टेकबाट अहिलेका लगानीकर्ता बाहिरिनेछन्,’ स्रोतले भन्यो।
क्लासिक टेक खरिद गरेसँगै निजी क्षेत्रको टेलिकम अपरेटर एनसेल अब ब्रोडब्यान्ड इन्टरनेट व्यापारमा प्रवेश गरेको छ। अन्य प्रतिस्पर्धीहरुको तुलनामा क्लासिक टेकको नेटर्वक राम्रो रहेको मूल्यांकन एनसेलले गरेको हो।
क्लासिक टेकसँगै अरु आइएसपी खरिदबारेसमेत एनसेलले चासो राखेको थियो। मूल्यका हिसाबले क्लासिक टेक किफायती देखेपछि एनसेनले यो कम्पनी किन्ने निधो गरेको हो।
टेलिकम लाइसेन्स अन्तिम पटक ५ वर्ष थप भएपछि एनसेल इन्टरनेट सेवामा प्रवेश गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ।
पछिल्लो समय इन्टरनेट सेवा प्रदायकहरुबीच चुलिएको प्रतिस्पर्धाले व्यापारमै धक्का पुगिरहेको अवस्थामा एनसेल ब्रोडब्यान्ड इन्टरनेट प्रदायकको रुपमा बजार प्रवेश गर्न लागेको छ। कतिपय इन्टरनेट सेवा प्रदायक वित्तीयरुपमै अप्ठेरोमा परिरहेको अवस्थामा एनसेलले इन्टरनेट सेवामा किनेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार क्लासिक टेकका फाइबर इन्टरनेट प्रयोगकर्ता १ लाख ६२ हजार ४५७ र वायरलेस ७०३ गरि कूल १ लाख ६३ हजार १६० ग्राहक छन्। नेपालको इन्टरनेट बजारमा क्लासिक टेकको हिस्सा ५.७९ प्रतिशत छ।
रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालको पछिल्लो विवरणअनुसार क्लासिक टेलले सन् २०२१/२२ मा ८७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो। त्यसअघिका दुई वर्ष कम्पनीले ८३ करोड ७० लाख र ६८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो।










