काठमाडौं। सेयर बजारले सेञ्चुरी प्रहार गरेको छ। भदौ २ यता निरन्तर ओरालो लागिरहेको नेप्से सोमबार १२७.३२ अंकले उकालो लागेको हो।
साउन ३१ गते ३००० विन्दुमा पुगेको नेप्से त्यसपछि निरन्तर ओरालो लागेर आइतबार २६९५.९३ अंकमा झरेको थियो। भदौ लागेपछि ८ करोबार दिनमा ३०५ अंकले घटेको नेप्से सोमबार सवा सय अंकको वृद्धिपछि २८२३.२५ विन्दुमा पुगेको छ।
कारोबारमा आएका ३३५ मध्ये २३९ कम्पनीका लगानीकर्ताले कमाएका छन्। नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स लगायत ११ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
सबै उपसमूहको सूचकमा हरियाली छाएको छ। फाइनान्स कम्पनीको सेयर मूल्यमा उछाल आएको छ। यो उपसमूहको सूचक ७.९४ प्रतिशतले उकालो लागेको छ।
इन्भेष्टमेन्ट उपसमूहको सूचक ५.४५, हाइड्रोपावर उपसमूहको सूचक ५.३६ र विकास बैंक उपसमूहको सूचक ४.९९ प्रतिशतले बढेको छ।
५ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। लक्ष्मी उन्नति कोषको सेयर मूल्य ४.७१ प्रतिशतले घटेको छ।
बजारमा १३ अर्ब १० करोड रुपैयाँको सेयर किनबेच भएको छ। सर्वाधिक कारोबार हुने कम्पनीमा गुडविल फाइनान्स छ। यव कम्पनीको ४६ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
त्यस्तै, अपी पावरको ४१ करोड ८० लाख र हिमालयन रि-इन्स्योरेन्सको ३३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।










