बजार माग बढ्दा स्वदेशी जुत्ताचप्पल उद्योगलाई राहत, चाडपर्वका लागि धमाधम उत्पादन



सरला सुवेदी
२०८१ भदौ १ गते १२:११ | Aug 17, 2024
बजार माग बढ्दा स्वदेशी जुत्ताचप्पल उद्योगलाई राहत, चाडपर्वका लागि धमाधम उत्पादन

काठमाडौं। चाडपर्वका लागि जुत्ताचप्पल उत्पादन बढाउन स्वदेशी जुत्ता उद्योगहरू लागिपरेका छन्। बजारमा आयातित जुत्ताचप्पल घट्न थालेपछि स्वदेशी उद्योगलाई बल मिलेको हो।

Tata
GBIME
Nepal Life

यतिबेला स्वदेशी उद्योगहरू प्रतिष्पर्धी मूल्यका स्टाइलिस उत्पादनमा ध्यान दिइरहेका छन्। बजारमाग वृद्धि भएपछि उद्योगीलाई लगानी बढाउन पनि सहज भएको छ।

दसैंमा बच्चादेखि वृद्धसम्मका जुत्ताचप्पलको बिक्री बढ्ने गरेको छ। नयाँ डिजाइन र बजारमा चलेका ट्रेण्ड अनुसारका जुत्ता चप्पलमा युवा वर्ग आकर्षित हुने गरेका छन्। बजारको माग अनुसारका डिजाइनमा उत्पादन बढाउँदा स्वदेशी उद्योगले मनग्य अर्डर पाउन थालेका छन्।

अघिल्ला वर्षसम्म बजारमा चाडपर्वको समयमा चिनियाँ जुत्ताचप्पल धेरै आयात हुने गरेको थियो। सस्तो र राम्रो डिजाइनमा पाइने भएकाले व्यापारीहरू स्वदेशीका तुलनामा आयातित बेच्न उत्साहित थिए। गत वर्षदेखि भने स्वदेशी उत्पादन प्रतिष्पर्धी भएर बजारमा आयो। साथै चीनबाट ल्याउन महँगो पर्दा आयात घट्न थाल्यो।

व्यवसायीहरूले स्वदेशी उत्पादनको बिक्री बढाएपछि उद्योगीलाई राहत भएको छ। यतिबेला चाडपर्वलाई मध्यनजर गर्दै उद्योगीहरूले उत्पादन गरिरहेका छन्।

नेपाल फुटवेयर एसोसिसन अध्यक्ष तथा रन सुजका संचालक रुद्र न्यौपाने चाडपर्वका लागि जुत्ताचप्पलको उत्पादन धमाधम भइरहेको बताउँछन्। ‘बजारमा स्वदेशी जुत्ताचप्पलको माग बढ्दो छ। अहिले स्वदेशमा उत्पादित जुत्ताचप्पलको खपत ७० प्रतिशत पुगेको छ। यसअघि ६० देखि ६५ प्रतिशत स्वदेशी उत्पादन हुने गरेको थियो,’ उनले भने।

जुत्ताचप्पलको व्यापारमा खासै कमी आएको महसुस नभएको उनले बताए। नेपाली बजारमा बर्सेनि १० करोडभन्दा बढीका जुत्ताको माग हुने गरेको छ। चाडपर्वको समयमा करिब साढे २ करोड जोडी जुत्ताचप्पलको खपत हुने उनले बताए।

‘हरेक वर्ष यतिबेला २ करोड जोडी बिक्री हुने गर्छ। यो वर्ष थप केही प्रतिशत खपत बढ्ने छ। चाडपर्वका लागि मात्र भन्ने हुँदैन,’ उनले भने। साउनदेखि असोजसम्मका लागि फुटवेयरको उत्पादन र खपतको आकलन गरिने उनले जानकारी दिए।

नेपाल फुटवेयर एसोसिसनका अध्यक्ष रुद्र न्यौपाने।

चाडपर्वमा पनि स्वदेशी उत्पादनको खपत राम्रो हुने अनुमान गरिएको उनी बताउँछन्। ‘स्वदेशी उद्योगहरूले हाल बजारमा चलेका ट्रेण्ड अनुसारका जुत्ताप्पल उत्पादन गरिरहेका छन्। गुणस्तर पनि राम्रो छ,’ उनी भन्छन्, ‘पहिले बच्चाको जुत्ता धेरै आयात हुन्थ्यो। अब चाडपर्वका लागि बच्चा र महिलाको जुत्ताहरू आयात गर्न नपर्ने नेपालमै बन्ने गरेको छ।’

स्मार्ट शुजका संचालक जीवन श्रेष्ठले दसैंलाई लक्षित गरि २५ वटा उत्पादनहरू सार्वजनिक हुने बताएका छन्। यतिबेला केही तयारी भइसकेको र केही हुँदै छ। ‘अरु बेलाभन्दा चाडपर्वमा खपत बढ्ने गरेको छ। यसका लागि बजारको मागअनुसार जुत्ताहरू उत्पादन हुने गरेको छ,’ उनले भने, ‘यसपाली दसैंलाई ५ देखि १० हजार जोडी जुताचप्पल उत्पादन हुने छ।’

संचालक श्रेष्ठले हालका लागि जुत्ताको मूल्य धेरै महँगो नहुने बताए। उत्पादनको समयमा जनशक्ति र कच्चा पदार्थको लागतलाई हेरेर मूल्य निर्धारण हुँदै आएको छ। ‘लटअनुसार मूल्य बढी र कम हुन सक्छ तर दसैंको बजारका लागि मात्र भनेर मूल्य बढ्दैन,’ उनी भन्छन्।

दसैंको समयमा विभिन्न किसिमको स्किम ल्याउने तयारी गरिरहेको उनले बताए। दसैंतिहारमा जुत्ताप्पलको मेला पनि आयोजना हुने गरेको छ।

नेपाल फुटवेयर एसोसिसनका उपाध्यक्ष जीवन श्रेष्ठ।

‘सुपथ मूल्यमा ग्राहकले खरिद गर्न सक्ने क्वालिटीका जुत्ताहरू बनाउँदै आएका छौं। डिलरहरूको मागअनुसार जुत्ता उत्पादन भइरहेको छ,’ उनले भने। स्पोर्ट्स र छालाका जुत्ता उत्पादन धेरै भएको उनी बताउँछन्। ‘ग्राहकले एक हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्मको स्पोर्ट्स शुज, लेदरको शुज र बुटहरू खरिद गर्न सक्छन्,’ श्रेष्ठले भने।

शुभकामना शुजका संचालक नानीराज घिमिरे भने दसैंतिहारका लागि उत्साहित छैनन्। उनी अपेक्षाकृत परिमाणमा स्वदेसी उत्पादनले बजार लिन नसकेको गुनासो गर्छन्। दसैंका लागि जुत्ताचप्पलको उत्पादन पहिलेभन्दा कम गरेको उनले बताए। ‘बजारमा माग घट्दै गएकाले ट्रेण्डअनुसारका डिजाइनहरू बनाइएका छन्। उत्पादन स्टक बसिरहेको छ,’ उनले भने, ‘अब चाडपर्वमा व्यापार होला भन्ने लागेको छ।’ 

जुत्ताचप्पलमा डिजाइन खोज्ने र सस्तो-महँगोभन्दा सजिलो खोज्ने पुस्ताको ठूलो संख्या विदेसिनुले बजारलाई असर परेको घिमिरेको भनाइ छ। ‘चिनियाँ जुत्ताचप्पलको आयात कम हुन थाल्नुको कारण यो पनि हो,’ उनले भने, ‘अब आयात प्रतिस्थापन हुँदै गएकाले स्वदेशी उत्पादन बिक्री हुन्छ भन्ने लागेको छ।’ 

आयात घटेको अवस्थामा बजारमाग स्वदेशी उत्पादनले पूरा गर्ने एसोसिएसनका अध्यक्ष न्यौपानेले बताए। ‘हाम्रो उत्पादन राम्रो भइरहेको छ। समयको माग अनुसार जुत्ताचप्पल पाइने भएकाले खपत बढ्दै जानुपर्छ,’ उनले भने। उपभोक्ताले क्रय शक्तिअनुसार बजारमा स्वदेशी जुताचप्पल उपलब्ध हुने उनले बताए।

स्वदेशी उद्योगले नयाँ प्रविधि प्रयोग गरि गुणस्तरीय र आरामदायी जुत्ताचप्पल बनाउन थालेको पाइएको छ। बजारमाग बढ्न थालेपछि स्वदेशी उद्योगीले लगानी बढाएका छन्।

नेपालमा उत्पादित जुत्ताचप्पल विदेश निर्यात पनि हुने गरेको छ। हरेक वर्ष एक करोड जोरभन्दा बढी जुत्ताचप्पलको निर्यात हुने गरेको छ। ४ करोड जोर जुत्ताचप्पलको आयात हुने गरेकोमा यो वर्ष आधा घट्ने एसोसिएसनले जनाएको छ।