माओवादीको स्थायी कमिटी बैठक नेतृत्व हस्तान्तरणमा केन्द्रित, जनार्दनलाई यस्तो जवाफ



बिजमाण्डू
२०८१ साउन २७ गते १९:३८ | Aug 11, 2024
माओवादीको स्थायी कमिटी बैठक नेतृत्व हस्तान्तरणमा केन्द्रित, जनार्दनलाई यस्तो जवाफ

काठमाडौं। माओवादी केन्द्रको स्थायी कमिटी बैठक नेतृत्व हस्तान्तरणको विषयमा केन्द्रित भएको छ।

Tata
GBIME
Nepal Life

पार्टी उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तातरण सम्बन्धमा १४ पृष्ठको लिखित प्रस्ताव नै पेश गरेपछि बैठक यही विषयमा केन्द्रित भएको हो।

पार्टी सचिव लीलामणि पोखरेलले नेतृत्व हस्तान्तरणबारे बैठकमा जीवन्त छलफल भएको बताए। उनका अनुसार आइतबार बोलेका १४ सदस्यमध्ये अधिकांशले नेतृत्व चयनबारे खुला छलफलको आवश्यकता औंल्याएका छन्। अधिकांश नेताहरुले नेतृत्वबारे अरुले चाहेर मात्रै नहुने बरु अहिलेदेखि नै तयारी गर्नुपर्ने मत राखेको पोखरेलले बताए।

‘नेतृत्व हस्तान्तरबारे बिहंगम छलफल भएको छ। अध्यक्षले सबै कुरा बोल्न भन्नुभएकोले नेतृत्वबारे जीवन्त छलफल भएको छ,’ उनले भने।

उपमहासचिव शर्माले शनिबार ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र अबको कार्यभार’ सम्बन्धी चौध पृष्ठको प्रस्ताव पेस गरेका थिए।

शर्माको प्रस्ताव गरेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट नेताहरुले भने तत्काल नेतृत्व हस्तान्तरण सम्भव नभएको जवाफ फर्काएका छन्। उनीहरुले नेतृत्वका आकांक्षीहरुलाई अहिले वैचारिक तथा सांगठनिक तयारी गर्न सुझाव दिएका छन्।

‘नेतृत्व विकासको कुरा निकै महत्वपूर्ण हुन्छ। उत्तराधिकारी तयार पार्ने कुराबारे सैद्धान्तिक छलफल चलेको छ। वैचारिक रुपमा, सांगठनिक रुपमा तयारी गर्दै जानुपर्‍यो भन्नुभएको छ धेरैजसो कमरेडहरुले। अध्यक्षले ध्यानपूर्वक सुन्नुभएको छ,’ बैठकको छलफलबारे पार्टी प्रवक्ता अग्नि सापकोटाले भने।

अध्यक्ष ‘प्रचण्ड’ले नेतृत्व हस्तातरणबारे जनार्दनलाई जवाफ फर्काएका छैनन्। प्रचण्डले बैठकको सुरुको दिन सम्बोधन गरेका थिए। जनार्दनको प्रस्तावमा प्रचण्डले बैठक समापनको दिन जवाफ दिनेछन्। ‘अध्यक्षज्यूले ध्यानपूर्वक सुन्नुभएको छ। समापनको दिन बोल्नुहुन्छ,’ सापकोटाले भने।