धनकुटा। पूर्वको पर्यटकीय क्षेत्र भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा आएको छ। टावर सञ्चालनले यहाँका होटल व्यवसायी उत्साही छन्। वन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी क्षेत्रफलमा २० करोड रुपैयाँ लगानीमा स्काइ वाक टावर शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो।
टावर सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्नेमा यहाँका पर्यटन व्यवसायीहरु आशावादी बनेका हुन्। होटल संघ भेडेटारका अध्यक्ष तुमराज लिम्बुले टावर सञ्चालनपछि पर्यटकीय गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे।
‘टावरको उद्घाटनमा पनि पर्यटकको आगमन बढेको छ, अब यहाँका होटलको व्यापार सुधार हुने अपेक्षा लिएका छौं,’ उनले भने।
लामो समयदेखि होटल व्यवसायमा संलग्न होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठ होटलको व्यापारसँगै यस क्षेत्रको कृषि उपज बेचबिखनमा समेत सहयोग पुग्ने अपेक्षा गर्छन्। होटल संघ भेडेटारका पूर्वअध्यक्ष तथा होटल लावती कर्नरका सञ्चालक लिलाराज लावतीले यहाँ सञ्चालित एक सयभन्दा बढी ठूला होटललाई स्काइवाक टावरको परियोजनाले महत्त्वपूर्ण सहयोग पुग्ने बताए।
गर्मीमा तराईबाट यहाँ आउने पर्यटकहरु धेरै हुने गरेको छ। चुरे पहाडमा अवस्थित यस भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृष्य एकैसाथ हेर्न पाइन्छ। होटल संघका अनुसार दृश्यावलोकनका लागि भेडेटारमा दैनिक पूर्वी भारत र नेपालका विभिन्न स्थानबाट दैनिक दुई हजारभन्दा बढी पर्यटकहरु आउने गरेका छन्।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले टावर सञ्चालनमा आएपछि यहाँको पर्यटन विकासमो टेवा पुग्ने बताए। हाल भेडेटारमा साना र ठूला गरी दुई सयभन्दा बढी होटल सञ्चालनमा छन्। रासस










