सेयर धितो कर्जा ५ वर्षमा दोब्बर, तर बढ्न सकेन सेयर बजार सूचक



आकाश बोगटी
२०८१ असार ३१ गते ०९:२८ | Jul 15, 2024
सेयर धितो कर्जा ५ वर्षमा दोब्बर, तर बढ्न सकेन सेयर बजार सूचक

काठमाडौं। पछिल्लो पाँच वर्षमा मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढेर दोब्बर भएको छ। आर्थिक वर्ष २०७५/७६ मा ४५ अर्ब ४१ करोड रहेको कर्जा अहिले ८७ अर्ब ११ करोड पुगेको हो। त्यसमध्ये १० अर्ब ८० करोड रुपैयाँ चालु आर्थिक वर्षमा थपिएको हो।

Tata
GBIME
Nepal Life

कर्जा दोब्बर पुग्दा पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक भने त्यसअनुसार बढ्न सकेको देखिँदैन। कर्जा विस्तार हुनुको अर्थ हो- सेयर बजारमा तरलता प्रवाह बढ्नु। तरलता बढ्दा सेयर बजार सूचकलाई उकास्न मद्दत गर्छ। तर घटेको ब्याज दर र बढेको तरलताबीच पनि सूचक उक्सिन सकेको छैन।

आर्थिक वर्ष २०७५/०७६ मा नेप्से १२५९ विन्दुमा थियो। अर्को, वर्ष कर्जा ३ अर्ब ९९ करोड थपियो। नेप्से १०३.४ अंकले बढेर १३६२.४ विन्दुमा पुग्यो।

आर्थिक वर्ष २०७७/७८ मा कोभिडका कारण धेरै क्षेत्र बन्द जस्तै रहे। जसले गर्दा धेरैजसोले सेयर बजारमा लगानी केन्द्रित गरे। सेयर धितो कर्जा अस्वाभाविक रुपमा बढ्यो। यो एकै वर्षमा ५५ अर्बले ८७ करोड कर्जा थपियो। सेयर धितो कर्जाको आकार १ खर्ब ६ अर्ब २८ करोड पुग्यो।

लगानी ओइरिँदा नेप्सेले उकालो यात्रा तय गर्‍यो। यो आर्थिक वर्ष नेप्से २८६२.४ विन्दुमा पुग्यो। २०७८ भदौ २ मा नेप्सेले रेकर्ड कायम गर्‍यो। त्यो दिन नेप्से ३१९८.६ विन्दुमा पुग्यो। तर, त्यसपछि कोभिडको प्रभाव कम हुँदै गयो। लगानीकर्ताले विस्तारै हात झिक्दै गए। २०७८/०७९ मा सेयर धितो कर्जा एक रुपैयाँ पनि बढेन, उल्टै २४.३ प्रतिशतले घट्यो।

बजारबाट लगानी बाहिरिएको असर नेप्सेमा पर्‍यो। नेप्से यो आर्थिक वर्ष २००९.५ विन्दुमा झर्‍यो। नेप्से ठूलो अंकले ओरालो लागेपछि बजारबाट लगानीकर्ता बाहिरिने क्रम अझै बढ्यो। २०७९/८० मा सेयर धितो कर्जा थप घट्न पुग्यो।

यो वर्षसम्म आइपुग्दा सेयर बजारमा प्रवाह गरिएको कर्जा रकम ७६ अर्ब ३० करोडमा आइपुग्यो। नेप्से उकालो लाग्ने कुरा भएन। केन्द्रीय बैंकले सेयर धिताे कर्जामा लगाएको क्याप र बढाइएको जोखिम भारको असरले बजार सुस्तायो।

चालु आवको सुरुदेखि राष्ट्र बैंकले एकपछि अर्को गरी लचकता अपनाउन थाल्यो। जसले गर्दा नेप्सेमा विस्तारै लगानी बढ्न थाल्यो। ११ महिनामा सेयर धितो कर्जा १४.१५ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकले ५० लाखसम्मको कर्जाको जोखिम भार घटाएर १५० बाट १२५ हुँदै १०० प्रतिशतमा झारेको छ। यस्तै बैंकको ब्याजदर पनि एकल अंकमा झरेको छ। यही कारण बजारमा लगानी विस्तारै बढिरहेका बेला आर्थिक वर्षको अन्तिममा राजनीतिक समीकरण फेरिन पुगेको छ। त्यसले लगानीकर्तामा आशाको संचार गराएको छ।

राजनीतिक समीकरण फेरिएको २ साता नहुँदै नेप्से २०४ अंकले बढेको छ। तर, लगानी घट्दा नेप्से जुन दरमा ओरालो लागेको थियो, कर्जा बढ्दा त्यही गतिमा भने उकालो लागेको छैन।

पूर्वबैंकर अनलराज भट्टराई राष्ट्र बैंकले गर्दै आएको नीतिगत परिवर्तनका कारण सेयर धितो कर्जामा घटबढ देखिएको बताउँछन्।

‘अहिले कुल कर्जामा सेयर धितो कर्जाको हिस्सा २ प्रतिशतभन्दा कम छ। त्यसले वित्तीय क्षेत्रमा कत्तिको प्रभाव पार्‍यो भन्ने विश्लेषण गरी नीतिगत व्यवस्था गर्नु पर्ने हो,’ उनले भने, ‘तर, बजार बढ्नासाथ केन्द्रीय बैंकको रियाक्सन देखिन्छ। त्यो रियाक्टिभ मुडको असर बजारमा देखिँदा कर्जामा उतारचढाव भएको हाे।’

राष्ट्र बैंकले जम्मा डेढ/दुई प्रतिशत कर्जा गएकाे क्षेत्रलाई बढी इन्टरभेन्सन गर्न खोज्नु नै गलत भएको उनको भनाइ छ। ‘हामी सबैले प्राइस बबललाई हेरिरेका छौं। साढे ५१ खर्ब कुल कर्जामध्ये ७०/८० अर्ब प्रवाह भएको सेयर धितो कर्जाले वित्तीय स्थायित्वमा कत्तिको प्रभाव पारेको छ भनेर हेर्दैनौं। केन्द्रीय बैंकले अब एनालाइसिस प्यार्टन नै परिवर्तन गर्न जरुरी छ,‘ उनले भने।

सेयर विश्लेषक मुक्ति अर्याल कम्पनीको सूचक उत्साहजनक नभएका कारण कर्जा बढेको अनुपातमा बजारले उचाइ लिन नसकेको बताउँछन्। ‘कर्जा बढ्दैमा बजार बढ्ने होइन। बजार बढ्नका लागि कम्पनीहरुको वित्तीय विवरण पनि राम्रो चाहिन्छ। अहिले आर्थिक शिथिलताका कारण धेरै कम्पनीको सूचक राम्रो छैन,’ उनले भने, ‘कम्पनीहरुले व्यापार राम्रो गर्न सके अब नेप्से पनि उकालो लाग्छ।’