आरबीबी सेक्युरिटिजले सेयर ब्रोकरको रुपमा गर्न थाल्यो काम, मार्जिन सेवा पनि दिने तयारी



बिजमाण्डू
२०८१ असार २७ गते ११:५१ | Jul 11, 2024
आरबीबी सेक्युरिटिजले सेयर ब्रोकरको रुपमा गर्न थाल्यो काम, मार्जिन सेवा पनि दिने तयारी

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरबीबी सेक्युरिटिज कम्पनीले सेयर ब्रोकरका रुपमा कारोबार सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

आरबीबी सेक्युरिटिजले बुधबारबाट कारोबार थालेको हो। कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट २०८० साउन ३२ गते स्वीकृति प्राप्त गरेको थियो भने माघ ३ गते नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको थियो।

त्यसैगरी सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट कम्पनीले माघ २३ गते राफसाफ सदस्यता लिएको थियो। ग्राहकलाई उच्चस्तरीय ब्रोकरेज सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ छ ।

ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ कारोबार सञ्चालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारसहित अन्य विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।

कम्पनीले प्रारम्भिक चरणमा ग्राहकलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र भविष्यमा नियामकबाट अनुमति प्राप्त गरी मार्जिन, थोक कारोबार र पुँजीबजार सम्बन्धी अन्य सेवा प्रदान गर्ने राष्ट्रिय वाणिज्य बैंकले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।