काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा फेरि बन्ने बताएका छन्।
पार्टीको महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले मोर्चामा जसपाका कारण समस्या भएको र अब फेरि बन्ने बताएका हुन्। उनले कम्युनिस्ट पार्टी मिलाउन नेतृत्वले पहल गर्नुपर्ने धारणा राखे।
उनले भने, ‘समाजवाद गफको विषय नबनोस्। जनताको जीवनमा देखियोस्।’
उनले नेपाल कम्युनिस्ट पार्टी (एमाले) आफूहरूसँग सहकार्य गर्न तयार नरहेको पनि खुलाए।
‘एमाले हामीसँग सहकार्य गर्न तयार छैन। धेरै कम्युनिस्ट पार्टी भयो भनेर चिन्ता मान्नु पर्दैन,’ उनले भने।
एकीकृत समाजवादी पार्टीसँग नेता र कार्यकर्ताको कुनै कमी नभएको उनले भनाइ राखे। एमालेबाट विद्रोहको औचित्य षड्यन्त्र विफल पारेपछि पुष्टि भएको उनले बताए।
‘की हामीले पलायन हुनुपर्थ्यो कि सहेर बस्नु पर्थ्यो। विगठन ठीक भन्ने फेरि सुरु भएको छ। चिन्ता नगर्नुस् हामी पनि छौँ प्रधानमन्त्रीज्यू,’ नेपालको भनाइ थियो।
विचार मिलनसँग तलदेखि माथिसम्म वातावरण मिलाउनु पर्ने उनले तर्क गरे।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए। यसबारे कुरा गर्दै नेपालले आफूले ओलीलाई फोन गरेको बताए।
उनले भने, ‘मेसेज पनि गरेको थिएँ। ३ वर्ष पुरानो घाउ बिर्सिएको छैन। पीएलाई पटक-पटक फोन गरेको छु।’











