काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बजेटको सिद्धान्त र प्राथमिकता निर्धारणमा नै समस्या रहेको बताएका छन्।
उनले गृह मन्त्रालयको बजेट शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नमा सोमबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिने क्रममा बजेट निर्माणमा प्रणालीगत समस्या रहेको बताए।
‘बजेट बनाउने शैली बदलिएन भनेर सत्तापक्षकै माननीयले कडैरुपमा आलोचना गर्नुभयो। असन्तुलित वितरणप्रति कडा प्रतिक्रिया यो सदनमा सुनियो। पहुँचका आधारमा बजेट बनाउने परम्पराले निरन्तरता पायो भन्ने कुरा सदनमा चल्यो,’ उनले भने, ‘बजेट बनाउने शैली र अभ्यासमा मात्र समस्या छैन, बजेटको सिद्धान्त र प्राथमिकता निर्धारणमै समस्या छ। यो दल विशेषको समस्या होइन। प्रणालीगत समस्या हो। यसमा सबै दलको नेतृत्व गम्भीर हुन आवश्यक छ।’
लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले नै बजेटको चर्को आलोचना गरेका थिए।











