काठमाडौं। नेपाल पर्यटन बोर्डले काठमाडौंबाट भारतको देहरादुनमा सिधा हवाई उडान गर्ने विषयमा छलफल गरेको छ।
बोर्डले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग भेट गरी सिधा हवाई उडानका लागि पहलकदमी लिन आग्रह गरेको हो। मुख्यमन्त्री धामीले यस विषयमा आफू सकारात्मक रहेको जवाफ दिएको बोर्डले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बोर्डको टोली नाट्टाको सुदूरपश्चिम प्रदेश समितिले देहरादूनमा शनिबार राखेको बी टू बी सेल्स मिसन कार्यक्रमका लागि गएको थियो।
कार्यक्रममा नाट्टाको सुदूरपश्चिम प्रदेश समिति र देहरादुनस्थित पर्यटन सम्बद्ध संस्था दुन ट्रावल ओनर्स एसोसिएसन (डीटीओए)बीच दुवै देशको पर्यटन प्रवर्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
कार्यक्रममा बोर्डका वरिष्ठ प्रबन्धक खड्ग विक्रम शाहले नेपालको पर्यटन, पर्यटकीय गन्तव्य तथा गतिविधिबारे प्रस्तुतिकरण गरेका थिए।
नाट्टाका सुदूरपश्चिम प्रदेश अध्यक्ष पदमविक्रम सिंहले भारतीय टुर अपरेटरहरुलाई नेपालका टुर प्याकज बेच्दा सुदूरपश्चिमका गन्तव्य समावेश गर्न आग्रह गरे।











