भारतीय राजदूतले भेटे सञ्चारमन्त्री शर्मालाई, ब्यान्डविथमा बेलाबेला देखिने समस्या समाधानमा जोड



बिजमाण्डू
२०८१ जेठ ३२ गते १४:२१ | Jun 14, 2024
भारतीय राजदूतले भेटे सञ्चारमन्त्री शर्मालाई, ब्यान्डविथमा बेलाबेला देखिने समस्या समाधानमा जोड

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन्।

Tata
GBIME
Nepal Life

भेटमा मन्त्री शर्माले भारतमा भर्खरै गठन भएको नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै नेपाल-भारत सम्बन्ध नयाँ उचाईमा अघि बढ्ने विश्वास व्यक्त गरिन्। उनले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि दुई देशबीच उच्चस्तरको सहकार्य हुने विश्वास व्यक्त गरेकी छन्। जवाफमा राजदूत श्रीवास्तवले ब्यान्डविथ लगायतका क्षेत्रमा बेलाबेलामा देखिने समस्या पनि समाधान गरेर जानुपर्नेमा जोड दिए।

नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि सुरु हुने गरी सूचना प्रविधि दशक प्रस्ताव गरेको जानकारी दिँदै मन्त्री शर्माले यसलाई प्रभावकारी रुपमा अघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन्। सूचना प्रविधि दशकलाई अघि बढाउन हरेक वर्ष गरिने कार्य र कार्यक्षेत्रसहितको गुरुयोजना बनाउन थालिएको जानकारी दिंदै मन्त्री शर्माले छोटो समयमा सूचना प्रविधिको क्षेत्रमा प्रगति गरेको भारतको अभ्यास र अनुभवबाट आफूहरुले सिक्न चाहेको बताएकी छन्।

उनले सूचना प्रविधि दशकको पहिलो वर्ष नीति र पूर्वाधार निर्माणको वर्ष हुने भएकाले यसमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताइन्।

‘नेपालमा अहिलेसम्म आर्थिक समृद्धिका आधारको रुपमा कृषि, पर्यटन, ऊर्जा र औद्योगिकको रुपमा लिँदै आएका थियौं,’ उहाँले भनिन्, ‘अब यी चार क्षेत्रसँगै सूचना प्रविधि क्षेत्रलाई पनि आर्थिक रुपान्तरणको नयाँ आधारको रुपमा थप गरिएको छ, यो हाम्रा लागि महत्वपूर्ण नीतिगत परिवर्तन हो।’

शिक्षा र स्वास्थ्य सेवालाई डिजिटाइज गरेर ग्रामीण क्षेत्रमा टेलिमेडिसिन र इ-लर्निङ प्लाटफर्मको विकास गर्न सकियो भने सेवा प्रवाहलाई गति दिन सकिने उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि डिजिटल पूर्वाधारको विकासमा जोड दिइएको बताइन्।

उनले पछिल्लो समय राष्ट्रिय साइबर सुरक्षा स्थापना गर्नेदेखि एकीकृत सरकारी डेटा सुरक्षा केन्द्र व्यवस्थित गर्दै लैजाने कार्य अघि बढाएको जानकारी दिँदै यसका लागि जनशक्तिलाई थप प्रशिक्षित गर्ने सवालमा भारतले सहयोग गर्ने अपेक्षा राखिन्।

राजदूत श्रीवास्तवले भारतले डिजिटल सार्वजनिक पूर्वाधार निर्माणको क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै नेपालको सूचना प्रविधिको विकासमा पनि सहयोग र साझेदारी गर्न तयार रहेको बताए।

नेपालको सूचना क्षेत्रको विकासका लागि भारतले तीन क्षेत्रमा सहयोग गर्न सक्ने उल्लेख गर्दै उनले भनिन्- ‘हामी अनुभव आदानप्रदान र तालिम प्रशिक्षण, डिजिटल सार्वजनिक पूर्वाधार निर्माणमा सहयोग र सूचना प्रविधिमा स्टार्टअप सञ्चालन गरिरहेको भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि जोड्न सक्छौं।’

नेपालका अधिकारीहरु बैङ्लुरु, दिल्ली लगायतका क्षेत्रमा गएर भारतले सूचना प्रविधिका क्षेत्रमा गरेको विकासबाट सिक्नसक्ने उल्लेख गर्दै उनले यसमा सहजीकरण गर्न आफूहरु तयार रहेको बताए।

गत वर्ष भएको मन्त्री शर्माको भारत भ्रमणका बेलामा आफूहरुले गरेको प्रतिबद्धताअनुसार भारतमा बस्ने नेपालीहरुका लागि मोबाइल सिमकार्ड वितरण सहज गराइएको जानकारी गराए। राजदूत श्रीवास्तवले ब्यान्डविथ लगायतका क्षेत्रमा बेलाबेलामा देखिने समस्या पनि समाधान गरेर जानुपर्नेमा जोड दिए।

भेटमा मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनालाई प्रभावकारी रुपमा अघि बढाउन पनि भारत सरकारको ध्यानाकर्षण गराएकी छन्।