काठमाडौं। नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा प्रहरीले पक्राउ गरेका बाल संगठनका तत्कालीन उपाध्यक्ष रिहा भएका छन्।
शुक्रबार काठमाडौंबाट तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ पक्राउ परेका थिए। शुक्रबार नै बयान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयले आइतबार हाजिरी जमानीमा रिहा गरेको हो।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा बालमन्दिरको तर्फबाट उजुरी परेपछि अनुसन्धानको बाटो खुलेको हो। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट तत्कालीन अध्यक्ष रिता सिंह वैध लगायत २० जना विरुद्ध पक्राउ पुर्जी लिएको छ। पक्राउपुर्जी जारी भएको एक महिनासम्म प्रहरीले अनुसन्धान गरेर पक्राउ गर्न थालेको हो।
बालमन्दिरको नाममा रहेको जग्गा र भवन विभिन्न चरणमा व्यक्ति तथा कर्मचारीको सेटिङमा सस्तो दरमा भाडामा समेत दिएको खुलेको छ। बालमन्दिर सीता भवनको नामले पनि चिनिन्छ।
विसं २०२१ मा सो भवन रहेको १९९ रोपनी जग्गा सरकारले अधिग्रहरण गर्ने निर्णय गरेको थियो। तर यसरी अधिक्रण गरेको जग्गा हड्पिएको भन्ने उजुरीमा उल्लेख छ।
अहिले बालमन्दिर रहेको जग्गामा वृहस्पती विद्या सदन विद्यालय संचालनमा रहेको छ।










