
काठमाडौं। कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ले आइतबार दिउँसो आरोहणमै दुषित राजनीति प्रवेश गरेको भन्दै सामाजिक संजालमा एउटा भिडियो पोष्ट गरे।
उनले आफ्नो आधिकारिक फेसबुक पेजमा अपलोड गरेको सो भिडियोमा भनेका छन्, ‘समिट साउथमा आरोहणका लागि जडान गरिएको डोरी नै काटिदिएको जानकारी पाएको छु। यो भनेको हिमाल आरोहणमै दुषित राजनीति प्रवेश गरेको हो। म लामो समय देखि चुप थिएँ। तर अहिले म बोल्नै पर्छ। हामी समिटतर्फ जाँदैछौँ भन्ने जानकारी हुँदाहुँदै यो घृणाजन्य काम भएको छ। अब रोप फिक्सिङको टोलीको जिम्मेवारी आएको छ। विगत ३ वर्ष देखि मविरुद्ध मान्छेहरू लागिपरेका छन्।’

सो भिडियो उनले प्रयोग गरेको वाकीटकीमा बाबु दाइ सम्बोधन गरेको संवादमा उभोपट्टिको डोरी काटेर फालिदिएको कुरा गरेको सुनिन्छ। उनलाई जानकारी दिने व्यक्तिले बालकोनीको माथिल्लो भागमा शव लिन जाने क्रममा डोरी नै चुडिएको पाइएपछि पुनः फर्किएर आएको जनाएका छन्।
निम्स दाइले सामाजिक संजालमा भ्रम फैलाउने काम गरेको सरकारी अधिकारी बताउँछन्। हिमाल आरोहण सहज बनाउनका लागि खटाइएका बेसक्याम्प प्रबन्धक ‘मेनेजर’ खिमलाल गौतमले आरोहणका लागि जडान गरिएको डोरी यथास्थितिमै रहेको जानकारी दिए।
‘हामीले यो सूचना पाएलगत्तै सम्पर्क गरेका थियौँ। सो क्षेत्रमा जाँदै गरेका आरोहीले उही डोरीकै सहायताले आरोहण गरिरहेको जानकारी प्राप्त भएको छ,’ गौतमले बिजमाण्डूसँग भने।
२ दिन अगाडिसम्म आरोहीहरू यही डोरीमार्फत सकुशल झर्दै आएको उनले जानकारी दिए। त्यही डोरीमार्फत ८० किलोको शव पनि झारिएको उनले बताए।
‘एकाएक काटिएको भन्ने कुराले हामीलाई पनि आश्चर्य बनायो। कोही चर्चामा आउनका लागि यस्तो रिपोर्टिङ गरेको देखिन्छ,’ गौतमले भने।
उनका अनुसार सगरमाथा आरोहणका लागि आएका ९५ प्रतिशत आरोही फर्किसकेका छन्। आरोहीको सुरक्षालाई मध्यनजर गर्दै यो डोरी हरेक वर्ष फेरिने गरेको बताउँदै उनले यो सिजनका लागि गत मे १० मा डोरी जडान गरिएको जानकारी दिए।