काठमाडौं। सहकारीको रकम अपचलनको विषयमा छानबिनका लागि प्रस्तावित संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बसेको कार्यदल सहमति नजिक पुगेको छ।
कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा रहेको कार्यदल आइतबारको बैठकमा सहमति नजिक पुगेको हो।
कानुनमन्त्री गिरीले कार्यदल सहमति नजिक पुगेको बताए। ‘सहमतिको नजिक पुग्ने गरी आज हामीले छलफल गरेका छौं। हामी अन्तिम बिन्दुमा पुगेका छौं। अब बालुवाटारमा शीर्ष नेताहरु बसेपछि टुंगो लाग्छ,’ कानुनमन्त्री गिरीले भने।
उनले कसरी सहमतिको नजिक पुगेको भन्ने प्रष्ट पारेनन्।
सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोपमा कांग्रेसले छानबिन समिति माग गर्दै सदन अवरुद्ध पार्दै आएको छ। समिति गठनमा सहमति भए पनि कार्यादेश टुंगो लागेको छैन। कार्यादेश तय गर्न सरकारले कानुनमन्त्री गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम लगायत सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको कांग्रेसको आरोप छ।
कांग्रेसले गृहमन्त्री लामिछानेको नामै किटेर टीओआर बन्नुपर्ने माग गर्दै आएको छ भने सत्तापक्षले नाम उल्लेख गर्न मानेको छैन। यसैकारण जेठ ५ मा गठन भएको कार्यदलले सहमतिको मस्यौदा अझै बनाउन सकेको छैन।










