काठमाडौं। थाइल्याण्डको ध्वजावाहक वायुसेवा कम्पनी थाइ एयरवेजले भाडादर महँगो भएका कारण यात्रु पाउन कठिन भएको बताएको छ।
काठमाडौं-बैंकक रुटमा दैनिक २ वटा उडान गर्दै आएको थाइ एयरवेजले सेवा शुल्क, हवाई इन्धन र भ्याटका कारण भाडादर महँगो भएको र त्यसको असरले यात्रु पाउनै मुस्किल भएको बताएको हो।
‘नेपालमा हवाई भाडादर महँगो भएका कारण थाइल्याण्डबाट हामीले पर्याप्त पर्यटक ल्याउन नसकिरहेको अवस्था छ,’ कम्पनीका बिक्री निर्देशक खुन विच किचाथोर्नले भने, ‘सेवा शुल्क, हवाई इन्धन र भ्याटले गर्दा भाडादर महँगो हुन पुग्यो। यसले गर्दा यात्रु पाउनै मुस्किल भइरहेको छ। म बैंककबाट आएकै उडानमा एयरवेजका प्रतिनिधि बाहेक थाइ नागरिक थिएनन्।’
सरकारले हवाई टिकटमा भ्याट गत असोजदेखि कार्यान्वयन गरेको हो। थाइ एयरवेजको नेपालका लागि जीएसए सोसाइटी इन्टरनेश्नलका अनुसार काठमाडौं-बैंकको एकतर्फी भाडादर अहिले न्यूनतम ३५ हजार रुपैयाँ छ।
किचाथोर्नले भाडादर महँगो भएका कारण थाइ पर्यटकका लागि भिसा फ्रि गरिनुपर्ने बताए। ‘भिसा फ्रि गर्दा केही हदसम्म उताबाट नेपालमा पर्यटक बढाउन सकिन्छ,’ उनले भने। नेपाल आउने थाइ नागरिकका लागि अनअराइभल भिसा शुल्क ३० अमेरिकी डलर छ।










