हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि दुई महिनामै तीन गुणा बढी मूल्य



बिजमाण्डू
२०८१ बैशाख १ गते १३:२१ | Apr 13, 2024
हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि दुई महिनामै तीन गुणा बढी मूल्य
तस्बिर : रासस।

तेह्रथुम। हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले २ महिनामै ३ गुणा बढी मूल्य पाएका छन्।

Tata
GBIME
Nepal Life

म्याङलुङ-९ साब्लामा सञ्‍चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो ६० रुपैयाँ थियो। अहिले प्रतिकिलो २ सय रुपैयाँले बिक्री भइरहेको छ।

कोशी प्रदेश सरकारको ३ करोड रुपैयाँ, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको १ करोड ३० लाख रुपैयाँ साझेदारीमा म्याङलुङ-९ साब्लामा एक हजार मेट्रिक टनको शीतभण्डार सञ्‍चालनमा छ।

प्रतिकेजी २ रुपैयाँ ५० पैसा प्रतिमहिना भाडा तिरेर माघको अन्त्यतिर शीतभण्डारमा राखेको २ महिनामै स्थानीय बजारमा सुन्तलाले ३ गुणा बढी मूल्य पाउँदा किसानलाई फाइदा भएको म्याङलुङ-२ की मेनुकाकुमारी श्रेष्ठले बताइन्।

‘हिउँदमा सुन्तला बिक्री नभएर बगानमै कुहिने अवस्था थियो। बिक्री भइहाले पनि ५० रुपैयाँ किलो व्यापारीले मागिरहेका थिए। अहिले ३ गुणा बढी मूल्य पायौँ हामी खुसी छौँ,’ श्रेष्ठले भनिन्।

यसअघि शीतभण्डारमा भण्डारणको अनुभव नभएकाले बिग्रिने हो की भनी डराइडराइ सुन्तला भण्डारण गरेको म्याङलुङ-२ का मोतीराज तुम्बाहाङ्फे बताए।

‘साथीहरूले बिग्रिन्छ नराख भन्दै थिए तर भण्डारणको समयमा कटिङ र लेबलिङमा ध्यान दिने हो भने नबिग्रिने रहेछ,’ उनले भने।

विसं २०७० मा दर्ता भएको कियाचु कृषि सहकारीमार्फत मेयङलुङ शीतभण्डार गत सालदेखि सञ्‍चालित छ। किसानमा शीतभण्डारको उपयोगिताको बारेमा थाहा नभएकाले किसानसँग छलफलमा रहेको शीतभण्डारकी व्यवस्थापक कुमारी लिम्बूको भनाइ छ।

यस वर्ष शीतभण्डारमा किवि ३ हजार किलो, सुन्तला २ हजार किलो भण्डारण गरिएको छ। अब आलुको बीउ भण्डारणको तयारी भइरहेको व्यवस्थापक लिम्बूको भनाइ छ। हिउँदमा खान पाइने सुन्तला चैत वैशाखमा किनेर खान पाएकोमा स्थानीय उपभोक्ता समेत खुसी छन्। रासस