
काठमाडौं। सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाविरुद्ध पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
अख्तियारले नगर प्रमुख थापाविरुद्ध ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ बिगो कायम गरी बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले उनले नगर प्रमुखका रुपमा काम थालेको मिति २०७४ असोज ७ देखि २०७९ माघ २९ गतेसम्मको सम्पत्तिको अनुसन्धान गरेको थियो।
थापा माओवादी केन्द्रका हुन्। उनी २०७९ वैशाखमा भएको निर्वाचनमा दोस्रोपटक नगर प्रमुख निर्वाचित भएका थिए।
उनको १३ करोड २० लाख ३ हजार रुपैयाँको सम्पत्तिमध्ये ७ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत खुलेकाले स्रोत नखुलेको बाँकी सम्पत्तिलाई गैरकानुनी आर्जन मानी अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारले बिगो बमोजिमको सम्पत्ति जफत र सो बराबर जरिवाना तथा कैद सजाय माग गरेको छ।
नगर प्रमुख थापाले गैरकानुनी आर्जनबाट पत्नी रेश्मी कुमारी घिमिरे थापा, भाइ राम कुमार थापा र भाइ बुहारी द्वारिका राउतको नाममा घरजग्गा र सेयर खरिदका साथै बैंक खातामा मौज्दात राखेकाले सम्पत्ति जफतको प्रयोजनका लागि उनीहरु ३ जनालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।