विकास बैंकमा करिब अढाइ लाख खाता निष्क्रिय, १ अर्ब ५ करोड रुपैयाँ बेवारिसे



आकाश बोगटी
२०८० चैत्र १२ गते २०:४३ | Mar 25, 2024
विकास बैंकमा करिब अढाइ लाख खाता निष्क्रिय, १ अर्ब ५ करोड रुपैयाँ बेवारिसे

काठमाडौं। विकास बैंकहरुमा निष्क्रिय खाता संख्या बढेर २ लाख ३८ हजार पुगेको छ। ती खातामा १ अर्ब ५ करोड २७ लाख रुपैयाँ बेवारिसे अवस्थामा छ।

Tata
GBIME
Nepal Life

संचालनमा रहेकामध्ये लुम्बिनी विकास बैंकमा सबैभन्दा धेरै ३९ हजार ४५४ खाता निष्क्रिय छन्। ती खातामा ३४ करोड ६३ लाख ४ हजार रुपैयाँ बेवारिसे अवस्थामा छ।

साथै, सांग्रिला डेभलपमेन्ट बैंकमा ३७ हजार, महालक्ष्मी विकास बैंकमा ३५ हजार ६ सय र ज्योति विकास बैंकमा २६ हजार खाता निष्क्रिय छन्।

सामान्यतया चल्ती र कल निक्षेप खाता १ वर्षसम्म कारोबार नभए निष्क्रिय भएको मानिन्छ। त्यस्तै, बचत खाता ३ वर्षसम्म कुनै कारोबार नभएमा निष्क्रिय मानिन्छ।

कतिपय अवस्थामा सर्वसाधारणले धेरै खाता खोल्ने र पछि वास्ता नगर्ने प्रवृत्तिले निष्क्रिय खाताको संख्या धेरै देखिएको हो। यसमा बैंकहरु पनि दोषी छन्। कतिपय बैंकले कर्मचारीलाई टार्गेट दिएर जथाभावी रुपमा खाता खोल्ने अभियान चलाएकाले पनि निष्क्रिय खाता धेरै हुन पुगेको हो। निक्षेपकर्ता विदेशिने क्रम बढ्नु पनि निष्क्रिय खाता संख्या अधिक हुनुको अर्को कारण हो।

बैंकबीच खाता खोल्ने तीव्र प्रतिस्पर्धा हुँदा पछिल्लो समय निष्क्रिय खाताको संख्या बढ्न थालेको एक बैंकरले बताए। व्यावसायिक संस्थाहरूले बैंक खातामा तलब (पारिश्रमिक) भुक्तानी गरिदिने गरेका छन। ‘संस्था परिवर्तनका कारण पनि खाता निष्क्रिय हुुने गरेको हो। कोभिडयता खाता निष्क्रिय हुने अवस्था व्यापक देखिएको छ,’ ती बैंकरले भने।

ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरिबहादुर बुढाथोकी दुई तीन बैंकमा खाता खोल्ने र पछि वास्ता नगर्ने ग्राहकको प्रवृत्तिका कारण निष्कृय खाता बढेको बताउँछन्। यसमा उनी बैंकहरुको पनि कमजोरी देख्छन्। ‘बैंकहरुले पनि ग्राहक संख्या बढाउन प्रतिस्पर्धा गर्दा निष्कृय खाता भोलुम ठूलो देखिएको हो,’ उनले भने।

खाता सक्रिय गराउन लाग्दैन शुल्क

निष्क्रिय खाता सक्रिय गराउन शुल्क लाग्दैन। विद्युतीय माध्यम (अनलाइन)बाट पनि निक्षेपकर्ताले आफ्नो खाता सुचारु गर्न सक्छन्। निक्षेपकर्ताले चाहेमा खाता बन्द गर्न सक्छन्। बन्द गराउँदा समेत शुल्क लाग्दैन। पछिल्लो १० वर्षदेखि शुन्य मौज्दात (पैसा नभएका) खाता बैंकले सूचना जारी गरी बन्द गर्न सक्छन।

के हुन्छ खाताको रकम?

निक्षेपकर्ताहरु लामो समयदेखि निष्कृय खातामा रहेको रकमबारे सोधखोजसमेत गर्न आएका छैनन्।

निष्क्रिय खाताको पैसा केन्द्रीय बैंकले खिचेर बैंकिङ विकासमा प्रयोग गर्न पाउने कानुनी व्यवस्था छ। २० वर्षसम्म पनि निष्क्रिय नै रहेका खाताको रकम खिच्न सक्ने प्रावधान छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा खाता निष्क्रिय भएको ५ वर्ष नाघे यस्ता खाताबारे एकपटक राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ।

बैंकहरूले हरेक आर्थिक वर्ष १० वर्षदेखि निष्क्रिय खाताको विवरण राष्ट्र बैंकलाई उपलब्ध गराउनुपर्छ। बैंकहरूले सार्वजनिक रूपमा जानकारी गराउँदासमेत निक्षेपकर्ता वा उसका आफन्तले रकम नलगेमा २० वर्षपछि बैंकिङ विकास कोषमा जाने व्यवस्था छ।

कोषमा रहेको रकम बैंकिङ क्षेत्रको विकासमा लगाउने ऐनमा उल्लेख छ। तर, हालसम्म यस्तो रकमको प्रयोग नगरिएको नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेलले बताए।