दुर्गा प्रसाईँका बडिगार्ड समातिएपछि गृहमन्त्रीले मागे २४ घण्टाभित्र इजाजतप्राप्त हतियारको सूची



बिजमाण्डू
२०८० चैत्र ६ गते १५:४२ | Mar 19, 2024
दुर्गा प्रसाईँका बडिगार्ड समातिएपछि गृहमन्त्रीले मागे २४ घण्टाभित्र इजाजतप्राप्त हतियारको सूची

काठमाडौं। गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मतहतका निकायलाई निर्देशन दिएको छ। सोमबार सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण चौबिस घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।

Tata
GBIME
Nepal Life

विवादास्पद व्यापारी दुर्गा प्रसाईंका बडिगार्डको साथबाट सोमबार हतियार फेला परेको थियो। प्रसाईंले पाँच वर्षअघि जिल्ला प्रशासन कार्यालय झापाबाट बाहक दीपक खड्काको नाममा हतियार अनुमति लिएका थिए। तर प्रहरीले हतियारबाहकभन्दा अरुसँग हतियार रहेकाले नियन्त्रणमा लिएको बताएको छ।

हतियार तथा खरखजना ऐन २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ। सोहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन पत्राचार गरेको हो।

पत्रमा ‘हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भए/नभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए/नभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ’ भनिएको छ।