करिब १० करोड लागतको पुल अलपत्र, भुक्तानी नपाएको भन्दै ठेकेदार कम्पनीले रोक्यो काम



बिजमाण्डू
२०८० फागुन ३० गते १४:४२ | Mar 13, 2024
करिब १० करोड लागतको पुल अलपत्र, भुक्तानी नपाएको भन्दै ठेकेदार कम्पनीले रोक्यो काम
प्रतीकात्मक फाइल तस्बिर।

नवलपरासी। पश्‍चिम नवलपरासीको बर्दघाट नगरपालिका-५ र १६ जोड्ने खजुरा खोलामाथि निर्माणाधीन पुलको काम बन्द भएको छ। करिब १० करोड रुपैयाँको लागतमा निर्माणाधीन उक्त पुलको भुक्तानी लामो समयसम्म नपाएको भन्दै ठेकेदार कम्पनीले काम ठप्प बनाएपछि निर्माणको काम अलपत्र भएको हो।

Tata
GBIME
Nepal Life

निर्माण व्यवसायीले अहिलेसम्म काम गरेबापत पाउनुपर्ने १ करोड १० लाख रुपैयाँमध्ये हालसम्म १६ लाख रुपैयाँ मात्र भुक्तानी दिइएको बर्दघाट नगरपालिकाले जनाएको छ।

पाउनुपर्ने बाँकी रकम नपाएको भन्दै निर्माण व्यवसायीले काम नगर्ने भन्दै काम ठप्प परेका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए।

‘रकम भुक्तानीका लागि केही महिनाअघि अर्थ मन्त्रालयमा सिफारिस गरेर पठाएका थियौँ,’ उनले भने, ‘अहिलेसम्म रकम नआएपछि व्यवसायीले काम रोकेको छ।’

वर्षायाममा खोला तर्न कठिन हुँदा बर्दघाटसँगै छिमेकी पालिका सुस्ता र प्रतापपुरका स्थानीय लामो दूरी भएर आवतजावत गर्नुपर्ने बाध्यतालाई हटाउन खोलामा पुल निर्माणको योजना परेको थियो।

सम्झौतापछिको लामो समयसम्म निर्माण कम्पनीले काम बन्द गरेपछि नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासनले प्रहरीमार्फत निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर काम सुरु गराएको थियो। विसं २०७७ मा श्रीमती सञ्जीवनी निर्माण सेवाले ९ करोड ७७ लाख रुपैयाँमा पुल निर्माणको सम्झौता गरेको हो। रासस