काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको संस्थागत सुदृढिकरणमा अवरोध पुर्याौउने तीनजना सञ्चालकलाई उर्जा मन्त्रालयले बर्खास्त गरेको छ। उर्जामन्त्री जनार्दन शर्माले आइतबार सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेलाई पदमुक्त गरेका हुन्।
तीन जना सञ्चालकले प्राधिकरण सुधारकालागि उर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अवरोध पुर्याउँदै आएका थिए। नयाँ परियोजना कम्पनी मोडलमा बनाउने, बिद्युत ब्यापार कम्पनी खोल्ने जस्ता प्रस्ताव उनीहरुले पारित हुन दिएका थिएनन्।
मंसिर १० गते डाकिएको प्राधिकरण बोर्ड बैठकमा प्रस्ताव पारित हुन नदिएर बाहिरिएका उनीहरु तीनजनाले हस्ताक्षर गरि बोर्डको निर्णय भन्दै प्रबन्ध निर्देशक घिसिङ बिरुद्ध प्रचार समेत गरेका थिए।
त्यसपछि मन्त्रालयले प्रष्टिकरणकालागि पठाएको चिठी समेत उनीहरुले बुझ्न अस्विकार गरेका थिए। मन्त्रालयले पत्रिकामा सूचना प्रकाशित गरि सात दिनभित्र प्रष्टिकरण दिन भनेपछि उनीहरुले पत्र बुझेका थिए।











