यमनको हुथी मुभमेन्टले रेड सीमा अमेरिकी व्यापारिक पानीजहाजलाई आक्रमण गरेको दाबी गरेको छ। हुथीले केही समयदेखि रेड सीमा व्यापारिक ढुवानीलाई लक्षित गरी आक्रमणहरु गर्दै आएको छ।
उसले केओआइ नामक पानीजहाजमा आक्रमण गरेको जनाएको छ। जसलाई अमेरिकाले सञ्चालन गरेको उसको दाबी छ।
सामुद्रिक सुरक्षा कम्पनी एम्ब्रेले यमनको अडेनस्थित बन्दरगाहको दक्षिणी भागमा रहेको एउटा जहाजमा विष्फोट भएको जानकारी दिएको छ। तर उसले जहाजको नाम भने खुलाएको छैन।
यसैबीच, अमेरिकाले यमनमा थप हवाई आक्रमण सुरु गरेको छ। पछिल्लो आक्रमणमा १० वटा ड्रोनहरू नष्ट गरिएको छ।
रोयटर्सका अनुसार, केओआइ बेलायतको ओसिनिक्स सर्भिसेजले सञ्चालन गरेको लाइबेरियन-झण्डा वाहक कन्टेनर पानीजहाज हो। उक्त कम्पनीले तेल ट्याङ्कर मारलिन लुआन्डा पनि सञ्चालन गर्दै आएको थियो, जुन गत शनिबार मिसाइलले क्षतिग्रस्त भएको छ।
इजरायलले गाजामा हमासमाथि आक्रमण गरेपछि हुथीले इजरायली, अमेरिकी तथा बेलायती पानी जहाजलाई निशाना बनाएर आक्रमण गरिरहेको छ।
हुथीका सैन्य प्रवक्ता याह्या सारियाले बुधबार आफूहरुको सशस्त्र सेनाले केओआइ नामक अमेरिकी व्यापारी जहाजमाथि नौसैनिक मिसाइलहरूमार्फत आक्रमण गरेको बताए। इजरायलतर्फ संकेत गर्दै उनले ‘कब्जा गरिएको प्यालेस्टाइनको बन्दरगाह’तर्फ गइरहेको जहाजमा आक्रमण गरिएको बताए।
युएस सेन्ट्रल कमाण्डका अनुसार यमनमा प्रक्षेपणका लागि हुथीले तयार पारेका १० ड्रोनले यस क्षेत्रमा व्यापारिक जहाज र अमेरिकी युद्धपोतमाथि जोखिम निम्त्याएको थियो। ती सबै ड्रोन तथा हुथीको ड्रोन ग्राउन्ड कन्ट्रोल स्टेसन ध्वस्त पारिएको उसले बताएको छ।
अमेरिकाले आफ्नो एउटा युद्धपोतले एडेनको खाडीमा तीनवटा इरानी ड्रोन र एउटा हुथी एन्टी-शिप ब्यालिस्टिक मिसाइल खसालेको बताएको छ।
रेड सीमा पानीजहाजमा हुथीले गरिरहेको आक्रमणका कारण अन्तर्राष्ट्रिय व्यापारलाई सुस्त बनाएको छ। यसले आपूर्ति अवरोधको जोखिम पनि बढाएको छ।











